समाचार

रेल्वे प्रभावितलाई चरण चरण मुआव्जा दिइने मन्त्री देवेन्द्र दाहालको भनाइ

विर्तामोड/ भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले पूर्वपश्चिम रेलमार्ग निर्माणको बृहत्तर योजनाबाट सरकार पछाडि नहट्ने बताएका छन् । उनले झापा, मोरङ, सुनसरी लगायत रेलमार्गका लागि अधिग्रहण गरिएको जग्गाको मुआव्जा चरण चरणमा गरेर भएपनि दिइने प्रष्ट पारेका छन् ।
प्रेस चौतारी झापाले आइतवार विर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री दाहालले चरण चरणमा मुआब्जा वितरण गरेर भएपनि विद्युतीय रेलमार्गलाई सरकारले अगाडि बढाउने बताए । रेल प्रभावित क्षेत्रका बासिन्दालाई मुआब्जा वितरण गर्न स्रोत सुनिश्चितताको विषय उठिरहेका बेला मन्त्री दाहालले यस विषयमा अर्थ मन्त्रालयसँग कुराकानी भईरहेको पनि खुलाए । सरकारले पूर्वपश्चिम विद्युतीय रेलमार्ग निर्माण गर्ने जनाउँदै चार वर्षअघिदेखि झापा, मोरङ र सुनसरीका सर्वसाधारणको जग्गा रोक्का राखेको छ ।
रेल प्रभावित क्षेत्रका बासिन्दाले सरकारले मुआब्जा नदिए आफ्नो जग्गा रोक्का फुकुवा गर्नुपर्ने माग राख्दै आएका छन् । स्थानीयको माग सुनवाई गर्दै चरण चरणमा मुआब्जा वितरण गरेर भएपनि रेलमार्ग बनाउने मन्त्री दाहालको भनाई छ ।
सरकारको एउटा ड्रिम प्रोजेक्टका रुपमा विद्युतीय रेलमार्ग रहेको जनाउँदै मन्त्री दाहालले यसबाट पछाडि फर्किने कुनै सम्भावना नरहेको स्पष्ट पारे । उनले झापाको भौतिक पूर्वाधार निर्माणका कामहरु धमाधम भइरहेको जानकारी दिए । भद्रपुर रोडको काम सम्झौता बमोजिम सम्पन्न गर्न निर्देशन दिइएको र हुलाकी मार्गमा निर्माण रोकिएको कनकाई पुल निर्माणको काम सुचारु भइसकेको मन्त्री दाहालको भनाई छ । उनका अनुसार सरकारले ठेक्का रद्द गर्ने तयारी गरेपछि निर्माण कम्पनीले काम थालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *