समाचार

निवृत्त राष्ट्रसेवक समाजको स्थापना दिवसमा ३ जना अग्रजलाई सम्मान

दमक/ निवृत्त राष्ट्रसेवक समाज नेपाल दमक नगर समितिले तीन जना अग्रज राष्ट्रसेवकहरुलाई सम्मान गरेको छ । समाजको १६ औं स्थापना दिवसका अवसरमा आइतबार दमक नगरपालिकाको सभाहलमा आयोजित अग्रज सम्मान कार्यक्रममा यस्तो सम्मान गरिएको हो । सम्मानित हुनेहरुमा निवृत्त राष्ट्रसेवकहरु क्रमशः छविलाल शर्मा सिटौला, दुर्गा प्रसाद खनाल र छत्र भक्त हाडा रहेका छन् । उनीहरुलाई सम्मान पत्र, दोसल्ला, नेपाली टोपी, फूलमाला र अविर टिकाले सम्मान गरिएको हो ।


सो सम्मान दमक नगरपालिकाका प्रमुख राम कुमार थापा, निवृत्त राष्ट्रसेवक समाज नेपालका केन्द्रीय उपाध्यक्ष गोपाल प्रसाद काफ्‌ले, कोशी प्रदेश अध्यक्ष छत्रबाबु ओझा र दमक नगर समितिका सल्लाहकार संयोजक लिलानाथ खनालले प्रदान गरेका थिए । सम्मान कार्यक्रममा प्रमुख अतिथि रहेका दमक नगर प्रमुख थापाले अग्रजहरुको सम्मान गर्ने संस्कार र संस्कृति नयाँ पुस्ताका लागि सिकाइको विषय हुने बताए । उनले निवृत्त राष्ट्रसेवकहरुले नगरपालिका र सरकारलाई पनि सही बाटो देखाएर दिशानिर्देश गरी अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता रहेको खाँचो औंल्याए । सम्मानित हुनेहरुका तर्फबाट दुर्गा प्रसाद खनालले बोल्दै सम्मानित गरेकोमा आयोजक संस्थालाई धन्यवाद दिएका थिए ।
कार्यक्रममा निवृत्त राष्ट्रसेवकहरुबाट देशले उनीहरुको ज्ञान, सीप र अनुभवलाई सदुपयोग गरेर परामर्श र सेवा लिनसक्ने कुरा कार्यक्रमका विशिष्ट अतिथि रहेका समाजका केन्द्रीय उपाध्यक्ष काफ्‌लेले बताए । समाजका कोशी प्रदेश अध्यक्ष ओझाले निवृत्त राष्ट्रसेवकहरुलाई देशका विभिन्न जिल्लामा संगठित गर्ने कार्य भइरहेको र त्यसबाट केही उपलब्धि पनि भएको सुनाए । दमक नगर समितिले सल्लाहकार संयोजक खनालले पनि निवृत्तहरु एकाकार हुँदा त्यसबाट देश र समाजलाई नै फाइदा पुग्ने बताए । निवृत्त राष्ट्रसेवक समाजका दमक नगर समिति अध्यक्ष अम्बिका प्रसाद सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष जिवराज भट्टराईले राखेका थिए भने सह–सचिव रुद्र प्रसाद खरेल, कोषाध्यक्ष चन्द्रप्रकाश अधिकारी र सदस्य दुर्गा काफ्‌ले खनालले आलोपालो गरी कार्यक्रम संचालन गरेका थिए । कार्यक्रममा दमक र आसपासका निवृत्त राष्ट्रसेवकहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *