समाचार

कोशी प्रदेश ज्येष्ठ नागरिक महासंघको महाधिवेशन सम्पन्न

मणिकुमार अर्ज्यालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन

विराटनगर/ कोशी प्रदेश ज्येष्ठ नागरिक महासंघको दोश्रो महाधिवेशन तथा चौथो साधारण सभाले सामाजिक व्यक्तित्व मणिकुमार अर्ज्यालको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । विराटनगर महानगरपालिका वडा नं. १ स्थित विष्णुमाया सामुदायिक पुस्तकालको सभाहलमा भएको सो साधारण सभामा भोजपुर र ओखलढुंगा बाहेकका प्रदेशका १२ जिल्लाबाट ज्येष्ठ नागरिक जिल्ला संघका तर्फबाट प्रतिनिधि र संस्थागत प्रतिनिधिहरु सहभागी रहेका थिए ।
महाधिवेशनले प्रथम उपाध्यक्षमा कृष्णभागवत श्रेष्ठ (धनकुटा) र महिला उपाध्यक्षमा भागीरथा चापागाई पोखरेल (झापा) , महासचिवमा यज्ञेश्वर निरौला ( विराटनगर, मोरङ), सचिवमा जय प्रसाद संग्रौला (झापा) र कोषाध्यक्षमा राधिका थापा (पाँचथर) लाई सर्वसम्मत चयन गरेको छ ।
कार्यसमिति सदस्यहरुमा कोमल निरौला (इलाम), हरिकृष्ण श्रेष्ठ (सुनसरी), देवी बाँस्कोटा (विराटनगर मोरङ), उद्धवचन्द्र आचार्य (खोटाङ), कृष्णबहादुर कटुवाल (तेह्रथुम) र दुर्गाबहादुर न्यौपाने (धनकुटा) लाई हलबाट सर्वसम्मत जिम्मेवारी दिइएको छ । महाधिवेशनबाट पदाधिकारी सहित १२ जना चयन गर्ने महासंघको वैद्यानिक व्यवस्था छ । प्रदेशका १४ जिल्लाका जिल्ला संघको अध्यक्षहरु भने कार्यसमितिमा पदेन सदस्य रहने व्यवस्था रहेको छ । जसअनुसार महासंघको कार्यसमिति २६ र त्यसले मनोनित गर्ने थप ३ जना गरी २९ सदस्यीय रहने बताइएको छ । कार्यसमितिको बैठक प्रत्येक तीन महिनामा बस्ने व्यवस्था रहेको सचिव संग्रौलाले जानकारी गराए ।
महाधिवेशनको उद्घाटन विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले गरेका थिए । विशेष अतिथिमा विराटनगर महानगरपालिका वडा नंं. १ का वडाध्यक्ष काजीबहादुर बस्नेत रहेका थिए भने उद्घाटन सत्रको कार्यक्रमको अध्यक्षता अध्यक्ष मणिकुमार अर्ज्यालले नै गरेका थिए । सो सत्रमा स्वागत उपाध्यक्ष भागीरथा चापागाई र कार्यक्रम संचालन महासचिव यज्ञेश्वर निरौलाको रहेको थियो । कार्यक्रम संचालनमा सचिव जय प्रसाद संग्रौला र अर्का ज्येष्ठ अभियन्ता देवी बाँस्कोटाले सहयोग गरेका थिए ।


अधिवेशनमा अध्यक्ष अर्यालले महासंघको वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष जया राईले आर्थिक प्रतिवेदन पेश गरेका थिए । त्यसक्रममा अहिलेसम्म महासंघले गरेको कार्य र उपलब्धिहरुको समीक्षा समेत गरिएको थियो । आगामी दिनमा गर्ने कार्यहरुका बारेमा पनि साधारण सभाबाट दिशानिर्देश गरिएको छ । अधिवेशनका क्रममा महासंघ र ज्येष्ठ नागरिक जिल्ला संघ मोरङको कार्यालय भवन निर्माण गर्न विराटनगर महानगरपालिका–१ स्थित पोखरियामा एक कठ्ठा १ धुर जग्गा दान गर्ने वडा नं. ५ निवासी जग्गादाता सुरेशकुमार श्रेष्ठ र निजकी धर्मपत्नी कमला श्रेष्ठलाई अभिनन्दन गरिएको थियो । त्यस्तै उत्कृष्ट कार्य गरेवापत ज्येष्ठ नागरिक जिल्ला संघ इलामलाई पनि सम्मान गरिएको थियो । इलामको सम्मान पत्र ज्येष्ठ नागरिक जिल्ला संघ इलामका अध्यक्ष लोकगायक देवी गौतमले बुझेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *