कमल/ बालतपस्वी सद्गुरु ओमनन्द अर्थात् शान्तिवादी गड एन्जलको मुख्य उपस्थितिमा उनको दर्शन प्रेमवादका अनुयायीहरुसँगै एकदिने दुःखहरण पुजा भव्यतापूर्वक सम्पन्न भएको छ । बुधबार झापाको कमल गाउँपालिका–५ पाडाजुँगीस्थित प्रेमवादी सामुदायिक भवनमा सद्गुरु ओमनन्द र उनका सयौँ यात्री अनुयायीहरुले विश्वमा अहिंसा, शान्ति र सद्भावको कामना गर्दै दुःखहरण पुजा गरेका हुन् । पुजामा नेपालको झापा, मोरङ र सुनसरी तथा विदेशबाट भारत, सिक्किम, भुटान, बेलायत, हङकङ, क्यानडाका प्रेमवादी प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
यस्तो पुजा बुधबारनै ताप्लेजुङ, राजधानी काठमाडौं, भुटान, हङकङ र बेलायतमा पनि एकैदिन गरिएको आयोजक स्वर्गीक मार्ग संघ नेपालका केन्द्रीय कार्यसमिति उपाध्यक्ष राम चाम्लिङ राईले जानकारी गराए । पाडाँजुगीमा भएको पुजामा कोशी प्रदेश सरकारका खानेपानी, सिंचाई तथा ऊर्जा मन्त्री एकराज कार्कीको प्रमुख आतिथ्यता र कोशी प्रदेश सभाका सांसदद्वय होमबहादुर थापा (झापा) र लिलाकुमारी राई (उदयपुर) तथा इलामको चुलाचुली गाउँपालिकाका अध्यक्ष राजेन्द्र केरुङको विशेष आतिथ्यता रहेको थियो । भव्य सभाहलमा सद्गुरु ओमनन्दले पाठपारायण गरिरहँदा बाहिर मैदानमा उनका सयाँै यात्री अनुयायीहरु पनि प्रार्थनासहित तपस्या गरिरहेका देखिन्थे । हलमा हजाराँै अनुयायीहरु शान्तपूर्वक प्रार्थना सभामा सरिक भएका थिए भने बाहिर मेला बजारको अवस्था पनि रहेको थियो ।
दुःखहरण पुजा हेर्न स्थानीय बासिन्दाहरुको घुइँचोनै लागेको थियो । विश्वमा रहेका सम्पूर्ण मानव जाति, पशुप्राणी, वनस्पतिहरुको हितका निम्ति बालतपस्वी ओमनन्दले देशविदेशका विभिन्न ठाउँमा सर्वधर्म दुःखहरण पुजा गर्दै आएका छन् । आयोजक स्वर्गीक मार्ग संघ नेपालका केन्द्रीय उपाध्यक्ष चाम्लिङले दिएको जानकारीअनुसार दुःखहरण पुजा हिन्दु, बौद्ध र किराँत धर्मका गुरुहरुको संयुक्त सक्रियतामा गरिँदै आएको छ । त्यसैले यो अहिंसा, शान्ति र दुःखहरणका लागि तीनवटा धर्मका अनुयायीहरुको संयुक्त सर्वधर्म पुजा भएको पनि उनले बताए ।
बुधबारको पाडाजुँगीको पुजामा हिन्दु धर्मका गुरु निच्छे खड्का, बौद्धका गुरु साङ्गेन लामा र किराँत धर्मअन्तर्गत किराँतेश्वर मन्दिरका गुरु ज्योति माङ्छाले पुजा प्रार्थनामा सहभागिता जनाएको जानकारी गराइयो । यस्तो पुजा वर्षेनी गर्दै आएको पनि बताइएको छ । दुःखहरण पुजाका लागि भएको औपचारिक समारोहको अध्यक्षता भने आयोजक स्वर्गीक मार्ग संघ नेपालका केन्द्रीय अध्यक्ष खेमबहादुर लिम्बू, स्वागत संघ अन्तर्गतको युवा संघका केन्द्रीय सदस्य तथा सर्वधर्मका गुरु सुरेन चाम्लिङ र कार्यक्रम संचालन संघको महासचिव यादव वान्तवाले गरेका थिए ।
