समाचार

टंक प्रसाद पाठकको ‘निर्जला’ उपन्यास लोकार्पण

दमक/ साहित्यकार टंक प्रसाद पाठकको तेश्रो कृतिका रुपमा ‘निर्जला’ उपन्यास लोकार्पण गरिएको छ । आइतबार दमक-८ स्थित निराकेश्वर शिव पाञ्चायन मन्दिरको सभालमा प्रमुख अतिथि प्रा. डा. गोविन्दराज भट्टराई लगायत स्थानीय कहलिएका साहित्यकारहरुले सो उपन्यासको लोकार्पण गरेका हुन् । उपन्यास सामाजिक अवस्थाको चित्रण गर्ने र महिला पात्रलाई मुख्य बनाएर लेखिएको छ ।
लेखकका यसअघि ‘भावनाका फूलहरु’ र ‘लोकतन्त्रका रङ्गीन परिदृष्य’ नामक दुई वटा कविता संग्रह प्रकाशित भइसकेका छन् । तेश्रो कृति ‘निर्जला उपन्यास’ समसामयिक तर मुख्य पात्रको वियोगान्तक अवस्थामा पुगेर टुंग्याइएको प्रा. डा. भट्टराईले बताए । यसले दमकेली साहित्यलाई अझ उचाईमा लगेर चिनाउने काम गरेको उनको भनाई थियो । कार्यक्रममा कृतिमाथि साहित्यकार डा. व्यञ्जना शर्मा र विन्दु दाहाल मूकदर्शकले समीक्षा गरेका थिए । शुभकामना मन्तव्य प्राज्ञ सदस्य सुमित्रा वाङ्देल ‘चेली’, दमक प्रज्ञा प्रतिष्ठानका पूर्वअध्यक्ष हेम अधिकारी, डा. अञ्जना भट्टराई, दमक बहुमुखी क्याम्पसका पूर्वक्याम्पस प्रमुख उत्तम प्रसाद भट्टराई, साहित्यकार खेमलाल पोखरेल, प्रतिभा निकेतन दमकका अध्यक्ष कमलराज भट्टराई र पाँचथरका साहित्यकार खाङ्ओजा थेगिमले राखेका थिए ।
साहित्यकार मेघराज तिम्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा उपन्यासकार तथा लेखक टंक प्रसाद पाठकले सहभागीहरुलाई धन्यवाद दिँदै पुस्तक प्रकाशन गर्दाको कष्ट र आफ्नो लेखकीय कहानी सुनाएका थिए भने उपन्यासकार पाठककी नातिनी प्रमिशा पाठकले स्वागत मन्तव्य राखेकी थिइन् । चर्चित युवा साहित्यकार धनकुटे कान्छाले संचालन गरेको कार्यक्रममा सारदा प्रसाद उपाध्यायले ‘बाजेको पालामा’ र कृष्ण उदासीले ‘अनुभव’ शीर्षक कविता सुनाएका थिए । धार्मिक तथा सामाजिक व्यक्तित्व लक्ष्मीप्रसाद सँग्रौलाले उपन्यासकार पाठक र निजकी धर्मपत्नी नन्दादेवी पाठक (अम्बिका) लाई नेपाली ढाका टोपी र दोसल्लाले सम्मान गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *