विर्तामोड/ नेपाल पत्रकार महासंघ झापाको नेतृत्वको मुख्य जिम्मेवारी पुनः एकराज गिरीले पाएका छन् । नयाँ नेतृत्वका लागि शुक्रबार भएको मतदानमा आफ्ना तीनजना प्रतिष्र्धीहरुलाई पछि पार्दै गिरी दोश्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् । २२० मध्ये २०५ जनाले मतदान गरेकोमा अध्यक्ष गिरीले १३१ मत पाए भने उनका प्रतिष्पर्धीहरु डिकेश लामाले ३४, राजेन्द्र गौतमले ३४ र टिकाराम नेपाल नेतीले मात्र ४ मत पाएका छन् ।
कार्यसमितिको उपाध्यक्षमा १२२ मत ल्याएर सुब्रत न्यौपाने निर्वाचित भएका छन् । प्रतिष्पर्धी गणेशमान मुखियाले ८१ मत प्राप्त गरे । महिला उपाध्यक्षमा विनिता गौतमले १०६ मत ल्याएर निर्वाचित हुँदा सुशीला सँग्रौलाले ८९ मतमा चित्त बुझाउनुपरेको छ । सचिव पदमा भने प्रदीप परियार र राजु पाठकले बराबरी ९९/९९ मत ल्याएकाले सहमतिमा आलोपालो नेतृत्व गर्नेगरी पहिलो कार्यकाल पाठक र दोश्रो कार्यकाल परियारले जिम्मेवारी सम्हाल्ने निर्वाचन समितिले जनाएको छ ।
त्यसैगरी सह-सचिव (समावेशी) मा तिलक तामाङ योञ्जनले १११ मत ल्याएर चिरञ्जीवी घिमिरेलाई पछि पारे । घिमिरेको ८३ मत आएको छ । कोषाध्यक्षमा मुक्तिनाथ पौडेलले ९९ मतसहित विजयी भएका छन् । पौडेलका प्रतिष्पर्धीहरु पुष्पलाल खड्काले ५४ र शम्भुजित दाहालले ४६ मत पाए । खुला सहसचिवमा रमेश तिवारी यसअघिनै निर्विरोध निर्वाचित भएका थिए ।
कार्यसमिति सदस्यहरुमा क्रमशः खुलातर्फ अस्मिता साँखी १४८, इशा प्रधान १३५, स्वस्तिका आचार्य १३३, विनोद पाण्डे १३३, द्रोण अधिकारी १२८, सुदीप अधिकारी १२६, दिपेश राजवंशी ११७, देवेन्द्र प्रसाई ९५ र भूमिराज पराजुली ९४ मत पाएर निर्वाचित भएका छन् । महिला सदस्यमा भने भू-कुमारी लिम्बू ११२ मत पाएर निर्वाचित भएकी छन् भने उनीसँग सविना लिम्बूले ७८ मत पाएर प्रतिष्पर्धा गरेकी थिइन् । आदिवासी जनजातिको कोटामा भने सदस्यमा इन्द्रबहादुर राई ११० मतसहित निर्वाचित हुँदा नरेश गुरुङले ७१ मत मात्र पाए ।
त्यस्तै मधेशी सदस्यमा सन्तोष शर्मा १०० मत ल्याएर निर्वाचित हुँदा मनकुमार शर्माले ९१ मत ल्याए । दलित सदस्यमा यसअघिनै मनकुमार गदाल निर्विरोध निर्वाचित हुन सफल भएका थिए । जिल्लाको नेतृत्वमा नेपाल प्रेस युनियन र प्रेस चौतारीले संयुक्त प्यानल बनाएर उम्मेदवारी दिएको थियो .भने प्रेस सेन्टर र समाजवादी प्रेस संगठनले पनि छुट्टै साझा प्यानल बनाएर उम्मेदवारी दिएका थिए । महासंघको केन्द्रीय परिषद् सदस्यमा विष्णु सुब्बा र अर्जुन कार्की तथा कोशी प्रदेश परिषद् सदस्यमा दमकका पत्रकार विष्णु पौडेल लगायत निर्वाचित भएका छन् । केन्द्रीय परिषद् सदस्यमा यसअघिनै महिलाबाट लिला अनमोल र आदिवासी जनजातिबाट विशाल नेम्वाङ निर्विरोध निर्वाचित भइसकेका छन् ।