दमक/ झापाको दमकबाट देशव्यापी रुपमा अपाङ्गता समावेशी अभियान शुरु गरिने भएको छ । अपाङ्गगता भएकाहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेश र अपाङ्गताको सवालका बारेमा विशेष ज्ञान प्रदान गरी सशक्त र जागरुक बनाउन यस्तो अभियान शुरु गरिन लागेको हो । दमक अपाङ्ग सहयोग समितिले मंगलबार दमक-८ स्थित अर्गानिक सब्जी बजारको हलमा पत्रकार सम्मेलन गरी यस्तो जानकारी गराएको हो ।
३३ आंै अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका सन्दर्भमा यस्तो अभियानको घोषणा गरिएको हो । जसअनुसार पहिलो चरणमा आगामी पुस १६ देखि २० गतेसम्म पाँच दिन देशभरिका ४० जना अपाङ्गता भएका अगुवा अभियन्ताहरुलाई ‘अपाङ्गता समावेशी विकास प्रशिक्षक प्रशिक्षण’ तालिम दिइनेछ । तालिमबाट उत्पादित जनशक्तिले देशका विभिन्न जिल्लामा गएर अपाङ्गता भएकाहरुलाई अपाङ्गता भएकाहरुको हक, हित, कल्याण, अधिकार, क्षमता विकास र सहज जीवन यापनका लागि प्रशिक्षण गर्ने दमक अपाङ्ग सहयोग समितिका अध्यक्ष खगेन्द्र बहादुर भट्टराईले जानकारी गराए । दमकको समितिले वडा नं. ४ को कृष्णमन्दिरमा १० कठ्ठा जग्गामा प्रदेशस्तरीय अपाङ्ग पुनःस्थापना केन्द्र निर्माण गरिरहेको, विगत लामो समयदेखि होजियारी संचालन गरेको र त्रिवेणी अपाङ्ग महिला बहुउद्देश्यीय सहकारी संस्था संचालन जस्ता महत्वपूणर् काम गरिरहेको पनि अध्यक्ष भट्टराईले बताए ।
पत्रकार सम्मेलनकै क्रममा राष्ट्रिय अपाङ्ग महासंघका पूर्वअध्यक्ष तथा एबिलिटी मञ्चका अध्यक्ष सुदर्शन सुवेदीले अनलाइनबाट सहभागी पत्रकारहरुलाई सम्बोधन गर्दै अपाङ्गता भएकाहरुको हक, हितको लागि लामो समयदेखि अधिकारको आन्दोलन चलेपनि अझै पनि अपाङ्गता मैत्री संरचनाहरु भनेजति बन्न नसकेको बताए । सुवेदीले सरकारले पनि महासंघलाई अपेक्षित र सोचेजस्तो सहयोग गर्न नसकेको वर्तमान अवस्थामा अपाङ्गता भएकाहरुको अधिकारका लागि अझै देशव्यापी अभियान चलाउनुपर्ने खाँचो औंल्याए । कार्यक्रम संचालन महासंघका केन्द्रीय सदस्य तथा दमक अपाङ्ग सहयोग समितिका सचिव मदनकुमार बोहोराले गरेका थिए ।
