कमल/ झापाको कमल गाउँपालिकामा अपाङ्गता भएका व्यक्तिहरुका लागि लक्षित गरेर संचालन गरिएको शिविर समापन भएको छ । शिविरका क्रममा १४२ जना अपाङ्गता भएका व्यक्तिहरुलाई परिचय पत्र वितरण गरिएको छ । शिविर यही मंसिर ४ देखि १० गतेसम्म पालिकाका सबै वडाहरुमा एकपछि अर्को गरी संचालन गरिएको थियो ।
पालिकाका ७ वटै वडा कार्यालयहरुमा एकपछि अर्कोगरी संचालन गरिएको शिविरमा कमल गाउँपालिका उपाध्यक्ष तथा यस कार्यक्रमकी संयोजक प्रमिला न्यौपाने तिवारीको विशेष सक्रियता र उपस्थिति रहेको थियो । शिविरका क्रममा अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य परीक्षण, आवश्यकता पहिचान र सँगसँगै परिचय पत्र वितरण गरिएको थियो ।
कमल गाउँपालिका महिला तथा बालबालिका शाखा प्रमुख रिता कार्की यसपटकको शिविरमा रिजालका अनुसार रातो कार्ड ११, निलो कार्ड ६७, पहेँलो कार्ड ४९ र सेतो कार्ड १५ गरी १४२ जनालाई अपाङ्गता भएको परिचय पत्र वितरण गरिएको छ । शिविर संचालन गर्नुअघि गरिएको सर्वेक्षणअनुसार कमलमा ८९२ जना अपाङ्गता भएका व्यक्तिहरु पाइएको थियो, जुन संख्या २०७८ सालको जनगणनामा १ हजार १३२ रहेको थियो । शिविर संचालनका क्रममा १४२ जना र त्यसअघि वितरण गरिएको ६५७ जना गरी जम्मा ७९९ जनाले सो गाउँपालिकामा अपाङ्गता भएका व्यक्तिको परिचय पत्र पाएको बताइएको छ ।
