समाचार

जंगली हात्ती प्रवेश र लागुऔषध दुव्र्यसन रोक्न सडकबत्ती वितरण

कमल/ झापाको कमल गाउँपालिका वडा नं. ५ को कार्यालयले वडामा रहेका टोल विकास संस्थाहरुलाई सडकबत्ती वितरण गरेको छ । हात्ती प्रभावित क्षेत्रमा जंगली हात्ती प्रवेश नियन्त्रण गर्न र लागुऔषध दुव्र्यसनीहरुको अखडा न्यूनीकरण गर्ने खास उद्देश्यले सडकबत्ती वितरण गरिएको वडा कार्यालयले जनाएको छ ।
शुक्रबार वडा कार्यालयमा टोल विकास संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुलाई बोलाएर वडाध्यक्ष लाल बहादुर (एल.बी.) विष्ट, वडा सदस्य ओमकुमार प्रधान, वडा सदस्यहरु र वडा सचिव अमृत कुमार साहले सडकबत्ती र सो को जडानका लागि चाहिने विद्युतीय सामग्री सहयोग स्वरुप हस्तान्तरण गरे । प्रत्येक टोल विकास संस्थालाई कम्तीमा १० थान सडकबत्ती वितरण गरिएको वडा सचिव साहले जानकारी गराए । रात्रीकालिन समयमा हुने अवाञ्छीत गतिविधि रोक्न, असुरक्षा हटाउन र टोलबस्तीको सौन्दर्य बढाउन पनि सडकबत्ती वितरण गरिएको
वडाध्यक्ष विष्टले बताए ।
सडकबत्ती बुझेपछि वडावासीलाई रात्रीकालिन समयमा सहज जीवन यापन र सुरक्षाको स्थिति सुदृढ बनाउन यसबाट मद्दत मिल्ने र आवश्यक परेका ठाउँमा टोल विकास संस्थाको निणर्यबाट प्राप्त सडकबत्ती जडान गरिने सितापुरी टोल विकास संस्थाका अध्यक्ष तोम प्रसाद बाँस्कोटाले बताए । अध्यक्ष बाँस्कोटाले वडावासीहरुको आवश्यकतालाई बुझेर सडकबत्ती उपलब्ध गराएकोमा वडा कार्यालय र जनप्रतिनिधिहरुलाई धन्यवाद पनि दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *