समाचार

कमलमा रेमीअन्तर्गत बस्तीस्तरका समिति बन्दै

कमल/ झापाको कमल गाउँपालिकामा वैदेशिक रोजगारीबाट फर्किएकाहरुका लागि पुनःएकीकरण परियोजना (रेमी) कार्यान्वयनमा ल्याइएको छ । रेमीले वैदेशिक रोजगारीबाट फर्किएकाहरुका लागि सामाजिक तथा आर्थिक क्षेत्रमा काम गर्दछ । जसअन्तर्गत सामाजिक पुनःएकीकरणका लागि मनोसामाजिक समस्या पहिचान गर्ने र पारिवारिक परामर्शको कामका लागि सहजीकरण गरिन्छ भने आर्थिक पक्षमा उद्यमशीलता र सीप विकास गर्नुका साथै शिक्षा र स्वास्थ्य क्षेत्रमा राज्यले प्रदान गरेका सेवा सुविधाहरुसँग जोडने काम गरिने बताइएको छ ।
सोमबार मात्र कमल-५ को पारुहाङ चौकमा सितापुरी टोल विकास संस्थासँगको सहकार्यमा अन्तरक्रिया गरी एक वस्ती अर्थात् टोल स्तरीय समिति समेत गठन गरिएको छ । समितिले रेमी परियोजनालाई आधारभूत तहमा कार्यान्वयन र सूचना संकलन साथै समन्वयका लागि सहयोग गर्दछ । गठित समितिको अध्यक्षमा प्रेमबहादुर राई, उपाध्यक्षमा टेकनाथ गौतम, सचिवमा नरेन्द्र राई तथा सदस्यहरुमा क्रमशः सन्तोष कँडेल, रमेश राई, लिला ढकाल र सुजिता राउत रहेका छन् । समितिले स्थानीय स्तरमा वैदेशिक रोजगारीबाट फर्किएकाहरुको तथ्यांक संकलन गरी उनीहरुका लागि रेमी परियोजनाअन्तर्गत के गर्न सकिन्छ भनेर कमल गाउँपालिका रोजगार सेवा केन्द्रअन्तर्गतको रेमी परियोजना इकाईसँगको समन्वयमा कार्ययोजना बनाउने भएको छ ।
पारुहाङ चौकमा भएको भेलामा कमल गाउँपालिका रेमी परियोजनामा कार्यरत परिवार परामर्शकर्ता गंगा पराजुली र सामाजिक परिचालक रेखाकुमारी न्यौपानेले आवश्यक सहजीकरण गरेका थिए । पराजुली र न्यौपानेले रेमी परियोजना के हो, यसले के कस्ता कामहरु गर्छ र टोलस्तरमा कसरी सहकार्य र समन्वय गर्न सकिन्छ भन्ने बारेमा जानकारी गराउनुका साथै विमर्श गरेका थिए । कार्यक्रमको अध्यक्षता सितापुरी टोल विकास संस्थाको अध्यक्ष तोम प्रसाद बाँस्कोटाले गरेका थिए । परिवार परामर्शकर्ता पराजुलीका अनुसार पालिकाभरिनै वस्ती अर्थात् टोल स्तरका समितिहरु गठन गरेपछि वडामा सञ्जाल बनाइने र त्यसलाई पालिका हुँदै प्रदेश स्तरीय संरचनासँग जोडिने छ । कमलमा भने वस्तीस्तरका सञ्जाल बनाउने कार्य धमाधम भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *