समाचार

यामु निरौला हत्या प्रकरणमा तीन जना पक्राउ

दमक/ झापाको दमक-९ का देशु भनिने यामु निरौलाको हत्या प्रकरणमा संलग्न भएको आरोप लागेका संखुवासभा स्थायी ठेगाना भइ हाल दमक-३ बस्ने गणेश दर्जी पक्राउ परेका छन् । दर्जीलाई शनिबार काँकडभिट्टाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
दर्जीमाथि यामु निरौलामाथि कुटपिट गरी हत्यामा संलग्न रहेको भनी पीडित परिवारले किटानी जाहेरी दिएको छ । जाहेरी दिएकामध्ये दर्जीसँगै पक्राउ पर्नेको संख्या तीन पुगेको छ । यसअघि मोरङको उर्लाबारीका प्रकाश कार्की र धु्रव गौतम पक्राउ परिसकेका छन् । किटानी जाहेरी दिइएका थप ४ जना भने अझै पक्राउ पर्न सकेका छैनन् । दर्जीको पक्राउसँगै आइतबार जिल्ला प्रहरी कार्यालय झापाले पनि हालसम्मको अनुसन्धानमा भएको प्रगतिका रुपमा पत्रकारहरुलाई सूचना दिएको हो ।
कार्की र गौतम भने हत्या गरिएका ३७ वर्षीय निरौलालाई लिएर आम्दा अस्पताल पुगेका बखतनै घटना भएकै दिन पक्राउ परेका हुन् । मृतककी श्रीमती कृष्णमाया निरौलाले दमक-८ का बुद्धि थापा, सोही वडाका नम चेम्जोङ, दमक-३ का राजु भनिने शेरबहादुर लिम्बू र सुनसरीको इटहरीका डेविड घलेका नाममा समेत किटानी जाहेरी दिएपनि उनीहरु भने पक्राउ पर्न सकेका छैनन् । फरार रहेका प्रतिवादीहरुको पनि तदारुकताका साथ खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय झापा प्रवक्ता कृष्णकुमार चन्दले बताए ।
घटनामा प्रयोग गरिएको आशंकामा घटनास्थलमा रहेका मे १ च २३९९ र प्रदेश १-०१-००१ च ८६३१ नम्वरका सवारी साधनहरुलाई नियन्त्रणमा लिइएको पनि जानकारी गराइएको छ । यही कार्तिक ६ गते मंगलबार अपरान्ह साढे ४ बजेतिर दमक-३ स्थित मावा पुलको बगरमा जग्गा सम्बन्धी विवाद हुँदा यामु निरौलाको कुटपिटबाट हत्या भएको थियो । निरौलाको हत्या पं्रकरणमा दोषीहरुलाई पक्राउ गर्ने सवालमा प्रहरी प्रशासनबाट ढिलाइ भएको र भनेजस्तो सक्रियता नदेखाएको भन्दै पीडित पक्षले इलाका प्रहरी कार्यालय दमक अगाडि शनिबार सम्म दिनहुँजसो विरोध प्रदर्शन गरेको थियो । प्रदर्शन सोमबार मध्यान्ह १२ बजेसम्मका लागि प्रहरीलाई अल्टिमेटम दिएर स्थगित गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *