दमक/ झापाको दमक-९ का देशु भनिने यामु निरौलाको हत्या प्रकरणले झनै चर्को रुप लिएको छ । निरौला हत्या प्रकरणका मुख्य दोषीहरुलाई पक्राउ गर्न प्रहरी प्रशासनबाट ढिलाई भएपछि समस्या झनै चर्किएको हो । पीडित पक्ष र साथ दिइरहेकाहरुले शनिबार पनि इलाका प्रहरी कार्यालय अगाडि दिनहँुजसो भइरहेको विरोध प्रदर्शनलाई निरन्तरता दिएका छन् । निरौलाको गत मंगलबार दमक-३ स्थित मावा पुल नजिकै जग्गा सम्बन्धी विवादका क्रममा ७ जनाको समूहले कुटपिट गरी हत्या गरेको आरोप छ । निरौलाको दमक अस्पतालमा रहेको शवलाई परिवारले अझै पनि उठाउन मानेको छैन ।
शनिरबार भएको विरोध प्रदर्शनका क्रममा इलाका प्रहरी कार्यालय दमकको गेट अगाडिनै टायर समेत बालिएको थियो । प्रदर्शनका क्रममा प्रदर्शनकारीहरुले मान्छे मार्न पाइँदैन, यस्तो डिएसपी चाहिँदैन, हत्यारालाई पक्राउ गर जस्ता नारा लगाएका थिए । इलाका प्रहरी दमकका डिएसपीमा निशान थापा रहेका छन् । तर हत्याको शुरुका दिनदेखिनै प्रहरीले पीडित पक्षको किटानी जाहेरी लिन नमान्नेदेखि हत्याको दोषीको खोजविन र पक्राउ गर्ने कुरामा भनेजस्तो सक्रियता नदेखाएको पीडित पक्षको आरोप छ । हुन पनि प्रहरीले किटानी जाहेरी लिने कुरामा पनि शुरुमा आनाकानी गरेको पाइएको छ । प्रहरी प्रशासनलाई पनि दबाव आएकाले यस्तो गरेको हुनसक्ने आशंका गरिएको छ ।
पीडित पक्षले हत्यामा संलग्न सबै अभियुक्तहरुलाई कानुनको दायरामा ल्याउन माग गरिरहेको छ । शनिबार दिनभरिजसो प्रदर्शनकारीहरुले नाराबाजी र विरोध गरे । बाहिर नाराबाजी गरिरहँदा डिएसपी थापाले भने भित्र कार्यालयमा दमक नगरपालिकाका प्रमुख राम कुमार थापा, उप-प्रमुख रेगिना भट्टराई प्रसाई, वडा नं. ७ का वडाध्यक्ष भिमप्रसाद पौडेल लगायतका जनप्रतिनिधिहरुलाई हाल सम्म भएको प्रहरी अनुसन्धानका बारेमा जानकारी गराएको बताइएको छ । डिएसपीको जानकारी पछि बाहिर निस्किएका वडाध्यक्ष पौडेलले घटनाको बारेका अनुसन्धानलाई राजनीतिक दबाव र प्रभावबाट मुक्त भएर अघि बढ्न सुझाव दिएको जानकारी गराए । विरोध प्रदर्शनका क्रममा दमक नगर प्रमुख थापाले पनि प्रदर्शनकारीहरुलाई सम्बोधन गर्दै दोषी पत्ता लगाएर कारवाही गर्न आफूहरुले पनि प्रहरी प्रशासनलाई भनेको बताए ।
निरौलाको हत्यामा संलग्न सबैलाई कर्तव्य ज्यान सम्बन्धी मुद्दामा कारवाही गर्न माग गर्दै प्रहरीमा किटानी जाहेरी परेको छ । किटानी जाहेरी परेकामा दमक-८ का शेरबहादुर नेम्वाङ, दमक-३ मा नै बसोबास गर्ने संखुवासभा मादीका गणेश दर्जी, मोरङको उर्लाबारी-६ का प्रकाश कार्की र सोही पालिका वडा नं. ७ का ध्रुव गौतम र सुनसरीको इटहरीका डेविड घले रहेका छन् ।
सीसी क्यामेरा फुटेजमा दमकका नम चेम्जोङलाई समेत देखिएपछि उनको नाम राखेर पनि किटानी जोहेरी दिइएको छ । बुद्धि थापा र नम चेम्जोङको नाम दर्ता गराउन भने प्रहरीलाई धेरै दबाव दिनुपरेको पीडित पक्षले बताएका छन् ।
मृतक ३७ वर्षीय निरौलाका श्रीमती कृष्णमाया निरौलासहित ११ वर्षीय छोरा र ९ वर्षीया छोरी रहेका छन् । हत्याका आरोपीमध्ये २ जना ध्रुव गौतम र प्रकाश कार्कीलाई भने प्रहरीले पक्राउ गरिसकेको छ । मृतकका दाजु नवराजले बरु भाईको हड्डी मात्रै उठाउने तर हत्यारा पक्राउ नगरेसम्म शव नबुझ्ने अडान लिइरहेका छन् । उता नेपाली काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, राप्रपा, रास्वपा, एमाले लगायतका राजनीतिक दलका नगर कमिटी/समितिहरुले घटनाको दोषीको पहिचान गरी कानुनी कारवाही गर्न माग गर्दै प्रेस विज्ञप्ति समेत जारी गरिसकेका छन् । नेपाल मानवअधिकार संगठनको केन्द्रीय उपाध्यक्ष डा. के.पी. सुवेदी र झापा सभापति दिनेशकुमार न्यौपानेले पनि दोषी पत्ता लगाइ कानुनी कारवाहीको दायरामा ल्याउन माग गरेका छन् । पछिल्लो सूचनाअनुसार प्रहरीले पनि जतिसक्दो चाँडो दोषीहरु पत्ता लगाएर पक्राउ र कानुनी कारवाही गर्ने जनाएको छ ।
