समाचार

कमल-५ मा कृषि उत्पादन बढाउन अन्तरक्रिया

कमल/ झापाको कमल गाउँपालिका वडा नं. ५ को कार्यालयले माटो परीक्षणका लागि नमुना संकलन तथा धान र तरकारी बालीमा देखिएका विद्यमान समस्याहरुका बारेमा किसानहरुसँग अन्तरक्रिया गरेको छ । वडामा रहेका टोली विकास संस्थाका प्रतिनिधि किसानहरुसँग यस्तो अन्तरक्रिया गरिएको हो ।
विहीबार वडा कार्यालयको हलमा भएको यस्तो अन्तरक्रिया कार्यक्रम वडाध्यक्ष लाल बहादुर (एल.बी.) विष्टको अध्यक्षता तथा वडा सदस्यहरु क्रमशः ओम कुमार प्रधान, चुरुङहाङ लावती र भूमिका सुनाम महराको आतिथ्यता तथा वडा सचिव अमृत कुमार साहको विशेष सक्रियतामा सम्पन्न भएको हो । अन्तरक्रियामा सहजीकरण कमल गाउँपालिका कृषि शाखाका प्राविधिक प्रेमप्रसाद पोखरेलले गरेका थिए । कार्यक्रममा विभिन्न बालीमा लगाइने विषादी र त्यसको असर, अर्गानिक मलको उपयोग, बालीमा लाग्ने रोगहरु र तिनको निदानको उपाय, माटोको उर्वराशक्ति र कृषि उत्पादन बढाउन गर्नुपर्ने कार्यहरु साथै माटो परीक्षणका लागि नमुना संकलन कसरी गर्ने भनेर सहजकर्ताले जानकारी गराएका थिए ।
कार्यक्रममा वडामा रहेका विभिन्न टोल विकास संस्थाका अध्यक्ष तथा प्रतिनिधि साथै किसानहरुको प्रतिनिधिमूलक सहभागीता रहेको थियो । यस्तो अन्तरक्रिया टोल टोलमा गएर निःशुल्क प्रदान गर्न तयार रहेको र त्यसमा साथ दिन टोल विकास संस्थाहरुलाई सहजकर्ता पोखरेलले आग्रह गरेका थिए । वडाध्यक्ष विष्टले भने किसानहरुको समस्या समाधान गर्न तथा कृषि उत्पादन बढाउने उद्देश्यले वडाले यस्ता कार्यक्रमहरुलाई प्राथमिकता दिएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *