खानेपानीको क्षमता र सेवा विस्तार गरिँदै गरेको अध्यक्ष न्यौपानेको भनाइ
दमक/ खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था दमक झापाले यही कार्तिक ९ गते हुने संस्थाको २८ औं वार्षिक साधारण सभामा प्रस्तुत गरिने प्रतिवेदन सार्वजनिक गरेको छ । विहीबार संस्थाको दमक-१ स्थित कार्यालयमा पत्रकार सम्मेलन गरी संस्थाका अध्यक्ष रवि न्यौपाने खत्री के.सी., सचिव चन्द्र बहादुर थापा लगायतका पदाधिकारी तथा कार्यसमिति सदस्यहरु र लेखा समिति संयोजक राधिका ओझा लगायतले संयुक्त रुपमा सो प्रतिवेदन सार्वजनिक गरेका हुन् ।
साधारण सभामा आउने आम खानेपानी उपभोक्ताहरुलाई आफ्नो सुझाव राख्न सजिलो होस् भनेर अघिल्लो दिन वार्षिक प्रतिवेदन सार्वजनिक गरिएको अध्यक्ष न्यौपानेले जानकारी गराए । पत्रकार सम्मेलनमा अध्यक्ष न्यौपानेले आफू नेतृत्वको कार्यसमिति निर्वाचित भएर आएको ६ महिनामा आम उपभो
क्ताको हितमा भएगरेका मुख्य मुख्य कामहरुका बारेमा बताए । जसमा खानेपानीको न्यूनतम शुल्क १३० बाट ५० रुपैयाँ बनाएको, धारा जडान गर्दा लाग्ने शुल्क घटाएर १५ हजार ३०० बाट घटाएर १२ हजार ३०० रुपैयाँ बनाएको र शुल्क घटाएको अवस्थामा पनि ६ महिनाभित्रमा थप १६ लाख ४० हजार ८४१ रुपैयाँ आम्दानी गर्न सफल भएको उनले सुनाए ।
त्यस अवसरमा संस्थाले हरेक कार्यालय दिनमा उपभोक्ताको डिजिटल परिचय पत्र बनाउने सेवा खुला राखिएको, वडा नं. १ र २ मा खानेपानी सेवाको क्षमता बढाउन थप बोरिङ र ट्याङ्कीको व्यवस्थापन गर्ने काम भइरहेको, पाइप विस्तार गर्दा उपभोक्तालाई लागतको २० प्रतिशत मात्र वहन गर्न लगाइ खानेपानी संस्थाले ८० प्रतिशत व्यहोर्ने निणर्य भएको पनि बताइयो । यसका साथै दमक नगरपालिकाका प्रत्येक वडामा ५ विपन्न घरपरिवार छनौट गरी निःशुल्क धारा जडान गरिने, प्रत्येक वडामा थप १५ परिवारलाई खानेपानी धारा जडानमा ५० प्रतिशत रकम छुट गरिने, र दमक-१० मा खानेपानीको सेवा विस्तारका लागि काम गर्ने योजना रहेको पनि प्रकाश पारिएको छ ।
खानेपानीका साथसाथै वृक्षारोपण र सरसफाईको कार्यमा पनि आवश्यक ध्यान दिइने तर प्रतिफलमुखी काम हुन्छ कि हुँदैन भन्नेमा पनि हेक्का राखिने बताइएको छ । खानेपानीको शुद्धताका सम्बन्धमा प्राविधिक कारणले बेला बेला समस्या आएपनि त्यसलाई मापदण्डअनुसार निराकरण गर्दै आएको हुँदा खास ठूलो समस्या नभएको पनि प्रष्ट पारियो । एशियाली विकास बैंकबाट ७५ करोड रुपैयाँ खानेपानीको सेवा र विस्तारका लागि छुट्टिएकाले आगामी दिनमा दमकको खानेपानीको सेवा अझै थप मजबुत र फराकिलो हुने विश्वास रहेको पनि अध्यक्ष न्यौपानेले त्यस अवसरमा जानकारी गराए । कार्यसमिति सदस्य दुर्गादेवी काफ्ले खनालले स्वागत गरेको कार्यक्रमको संचालन सचिव चन्द्र बहादुर थापा र कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष न्यौपानेले गरेका थिए । पत्रकारहरुले राखेको जिज्ञासाको जवाफ अध्यक्ष न्यौपाने, सचिव थापा र व्यवस्थापक तथा ईन्जिनियर कृष्ण थापाले दिएका थिए ।
