दूधे (शिवसताक्षी)/ झापाको शिवसताक्षी नगरपालिकाको दूधेमा ४८ जना दृष्टिविहीनहरुलाई सेतो छडी तथा लत्ताकपडा सहयोग स्वरुप प्रदान गरिएको छ । नेत्रहीन संघ झापा र नेपाली ख्रिष्टियन नागरिक संघ संरक्षण समिति झापाको संयुक्त आयोजनामा बुधबार एक कार्यक्रमको आयोजना गरी सो सहयोग सामग्री वितरण गरिएको हो ।
सहयोग सामग्री शिवसताक्षी नगरपालिका प्रमुख मेघाहाङ थोप्रा (रोशन) ले प्रमुख अतिथिका रुपमा उपस्थित दृष्टिविहीनहरुलाई प्रदान गरेका थिए । त्यस अवसरमा नगर प्रमुख थोप्राले शारीरिक रुपमा अशक्त र अपाङ्गता भएकाहरुलाई वार्षिक योजना बनाएर नगरपालिकाले पनि सहयोग गर्ने तयारी भइरहेको प्रष्ट पारे । नेपाली ख्रिष्टियन नागरिक संघ संरक्षणका अध्यक्ष तिमोथी सिन्हाले अपाङ्गता भएका र दृष्टिविहीनहरुलाई यस्ता खालका सहयोग आगामी दिनमा पनि गर्दै जाने बताए ।
कार्यक्रममा शिवसताक्षी नगरपालिका-११ का वडाध्यक्ष बहादुर आङ्वो, वडा नं. २ का वडाध्यक्ष लक्ष्मी प्रसाद चेम्जोङ, नेपाल प्रज्ञा प्रतिष्ठानकी प्राज्ञ सुमित्रा वाङ्देल (चेली), आदिवासी जनजाति नेत्रहीन संघ झापाका अध्यक्ष भोजकुमार तामाङ लगायतको विशेष उपस्थिति रहेको थियो । कार्यक्रममा युवा सामाजिक अभियन्ता सन्तोष थोप्राले दृष्टिविहीनहरुलाई सहयोगका लागि २१ हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेको ख्रिष्टियन नागरिक संघ संरक्षण समितिका संस्थापक सदस्य टिकाराम आचार्यले जानकारी गराए ।
