कमल/ झापाको कमल गाउँपालिका वडा नं. ५ को पूर्व पश्चिम राजमार्ग खण्डको रवि पेट्रोल पम्प नजिक शनिबार मध्यान्ह १२ः३० बजेतिर भएको सवारी दुर्घटनामा मोटरसाइकल चालक पदम मुकारुङ राईको घटनास्थलमै मृत्यु भएको छ । मोरङ केरावारी गाउँपालिका वडा नं. ७ का ५५ वर्षीय राईलाई दमकबाट विर्तामोडतर्फ गइरहेको कनकाई माई पाथीभरा नामक यात्रुवाहक बसले ठक्कर दिएको थियो ।
पश्चिमबाट पूर्व जाँदैै गरेको प्रदेश १- ०१ -००१ (ख) ३४३५ नम्बरको यात्रुवाहक बसले विपरीत दिशाबाट आउँदै गरेको को. १६ प. ५३२२ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा राईको घटनास्थलमा नै ज्यान गएको थियो । दुर्घटनापछि बस चालक झापाको गौरादह नगरपालिका-१ बस्ने संजय नेपालीलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ । दुर्घटनाबाट राईको मृत्यु भएपछि आक्रोशित समूहले सो बसमा सिसा तोडफोड गर्नुका साथै ढुंगामुढा र आगजनी समेत गर्ने प्रयास गरेका थिए । त्यसबेलादेखि करिब ४ घण्टासम्म पूर्व पश्चिम राजमार्गमा यातायात आवागमनमा अवरोध पुगेको थियो । सवारी साधनहरु अवरोधको समयमा वैकल्पिक मार्ग भएर चलेका थिए । प्रहरीले घटनास्थलमा उल्लेख्य संख्याको टोली परिचालन गरी मुख्य राजमार्गको भीड नियन्त्रणका साथै व्यवस्थापन र यातायातमा भएको अवरोध खुलाएको थियो । पीडित परिवारको सहमतिमा प्रहरीले लाश उठाएपछि ४ /५ घण्टादेखि अवरुद्ध पाडाजुङ्गी स्थित पूर्व पश्चिम राजमार्गमा यातायात सुचारु भएको थियो ।
समाचार
बसले मोटरसाइकललाई ठक्कर दिँदा राईको मृत्यु, आक्रोशितबाट आगजनीको प्रयास
- by ज्येष्ठ आवाज
- October 19, 2024
- 0 Comments
- 53 Views
- 4 months ago
