समाचार

दमकको डि-म्याक्समा तामाङ संस्कृति झल्किने चलचित्र ‘चारदाम’ को विशेष प्रदर्शन

दमक/ तामाङ जातिको संस्कृतिमा आधारित नेपाली चलचित्र ‘चारदाम’ को विहीबार झापाको दमकमा विशेष प्रदर्शनी गरिएको छ । स्थानीय डि-म्याक्स सिनेमा हलमा प्रदर्शन गरिएको सो चलचित्रले स्थानीय दर्शकहरुको मन जितेको कुरा खचाखच भरिएको हलबाट थाहा हुन आउँछ । क्यानडा नेपालले आयोजना गरेको प्रतियोगितामा बेष्ट फिल्मको अवार्ड पाएको चारदाम दमकपछि केही दिनमै भद्रपुर विर्तामोडका हलहरुमा पनि विशेष प्रदर्शनी गरिने तयारी भइसकेको कुरा लेखक तथा निर्देशक लाखमान योञ्जनले जानकारी गराएका छन् ।
चारदाम विशेषत कोशी प्रदेश याने की पूर्वी नेपालमा रहेका तामाङ जातिको मौलिक संस्कृति र पहाडी जिल्ला भोजपुर लगायतको पर्यटकीय क्षेत्रको आकर्षणलाई समेटेर बनाइएको चलचित्र हो । यो चलचित्र हेर्नेमा विशेष गरेर तामाङ समुदायका मानिसहरुसँगै विभिन्न आदिवासी जनजाति र नेपाली भाषी चलचित्रप्रेमीहरुको घुइँचो लाग्ने गरेको छ । यसअघि कास्कीको पोखरा, सुनसरीको धरान, झुम्का, चकर्घट्टी र इटहरी, मोरङको विराटनगर र विराटचौक तथा भोजपुरमा यो चलचित्र प्रदर्शन गर्दा अपार सफलता पाएको छ ।


खासगरी तामाङ संस्कृतिमा आधारित भएपनि नेपाली भाषामा बनाइएको यो चलचित्रमा नायक नायिका लगायत कलाकारहरुको अभिनय र प्रस्तुतिको उच्च मूल्यांकन गर्न सकिन्छ । चारदाम विशेषत पूर्वी नेपालका तामाङ जातिमा विवाह गर्दा केटी पक्षबाट केटा पक्षलाई दिइने एक किसिमको कन्यादान अर्थात् एउटा मौलिक परम्परा र संस्कृति हो, त्यसलाई चार वटा सिक्काको प्रयोग गरी दिइन्छ । तामाङ जातिमा एउटी विधुवा नारी अर्थात् एकल महिला त्यो पनि बालिका छोरीसहित लाई पनि स्वीकारेर कुमार युवकले प्रेमपछि सामाजिक परम्पराअनुसार विवाह गरेको कथा र दृश्य चारदाम चलचित्रमा सुन्दर ढंगबाट प्रस्तुत गरिएको छ । साथै समाजमा जालीहरुले कसरी एउटा गरीब तामाङ परिवार र अबला नारीप्रति जालझेलपूणर् र गिद्देदृष्टिको व्यवहार गर्छन् भन्ने कुरा समेत उजागर गरिएको छ ।
चलचित्रको सुटिङ पूर्वी पहाडी जिल्ला भोजपुरमा ९८ प्रतिशत जति गरिएको निर्देशक योञ्जनले चलचित्रको विशेष सो पछि आयोजित पत्रकार सम्मेलनमा बताए । उनले तामाङ बाहुल्य क्षेत्रहरुमा पनि मागअनुसार तामाङ भाषामै डबिङ गरेर पनि चारदाम प्रदर्शन गर्ने तयारी समेत भइरहेको प्रकाश पारे । त्यस्तै विदेशमा रसिया, बेलायत, अष्ट्रेलिया लगायतका मुलुकहरुमा पनि चारदम प्रदर्शन गर्नका लागि त्यहाँ रहेका नेपाली समुदायसँग संवाद, सम्पर्क र समन्वय भइरहेको समेत जानकारी गराए । आगामी २०८२ सालमा भने नेपाल भरि यो चलचित्रको प्रदर्शन गरिने पनि उनले सुनाए ।
चारदामले तामाङ जातिमा रहेको महिला अधिकारको स्थिति र एउटी नारीले जीवनमा कति सम्मको वेदना र पीडा खेप्नुपर्छ साथै कतिसम्मको सहनशीलता देखाउँदा रहेछन् भनेर पनि चित्रण गरेको नेपाल तामाङ धेदुङ संघ इटहरीका अध्यक्ष मोहन लोप्चन तामाङ र कलाकार शान्ति पाख्रिनले प्रकाश पारे । उनीहरुले नयाँ पुस्तामा आफ्नो मौलिक संस्कार र संस्कृतिको बारेमा जानकारी होस् भनेर पनि चारदाम बनाइएको र यसले सकारात्मक प्रभाव पारिरहेको बताए । चारदाम को निर्माण भने लिम्बू समुदायकी डम्बरकुमारी लिम्बूले गरेकी छन् । पत्रकार सम्मेलनमा नेपाल तामाङ धेदुङ संघ झापाकी उपाध्यक्ष सरिता लामा लगायत चारदाम का कलाकार तथा अन्य कलाकारहरुको उपस्थिति रहेको थियो । चारदाम को विशेष सो अघि सो चलचित्र निर्माणका क्रममा विभिन्न ढंगले योगदान पुर्‍याउने व्यक्ति तथा व्यक्तित्वहरुलाई सम्मान पत्रले सम्मान गरिएको थियो । चारदाम निर्माण कम्पनी कोशी फिल्मस् प्रा.ली. बाट सम्मानित हुनेहरुमा पत्रकार तथा निर्देशक डिकेश लामा, कलाकार तथा संचारकर्मी अनुप योञ्जन, अघिल्लो पुस्ताका कलाकार श्याम गिरी, शान्ति पाख्रिन, नेपाल तामाङ धेदुङ संघ दमकका अध्यक्ष दुर्गा ब्लोन तामाङ, लक्ष्मी घिसिङ, हरिराज खिम्दिम, सुमन मोक्तान लगायत रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *