दमक/ झापाको दमक नगरपालिकाले नगर क्षेत्रभित्र रहेका अति विपन्न ३ सय परिवारलाई खाद्यान्न सामग्री सहयोग गरेको छ । यसपालीको दशैं तिहार जस्ता चाडपर्वलाई लक्षित गरी बुधबार नगरपालिका हातामा एक कार्यक्रम गरी विपन्न परिवारलाई सहयोग स्वरुप खाद्यान्न सामग्री हस्तान्तरण गरिएको हो । खाद्यान्नमा प्रति परिवार ५० किलोग्राम चामल, २ किलो दाल, २ किलो नुन, २ लिटर खानेतेलका साथै ५ डल्ला साबुनसमेत प्रदान गरिएको नगरपालिका सामाजिक विकास शाखा प्रमुख केशव प्रसाद प्रसाईले जानकारी गराए ।
खाद्यान्न ढुवानीका लागि नगद २०० रुपैयाँ समेत त्यस अवसरमा उपलब्ध गराइएको थियो । कार्यक्रममा नगरपालिका प्रमुख राम कुमार थापा, उप-प्रमुख रेगिना भट्टराई प्रसाई, पूर्व नगर प्रमुख रोमनाथ ओली, नगरपालिका सामाजिक विकास समिति संयोजक शारदा सापकोटा भट्टराई, सामाजिक व्यक्तित्व शेरबहादुर भट्टराईले ति सामग्रीहरु हस्तान्तरण गरे ।
नगरपालिकाको स्वीकृत १५ लाख रुपैयाँको बजेट अन्तर्गत ति सामगी अति विपन्न परिवारलाई उपलब्ध गराइएको जानकारी गराइएको छ । नगरपालिकाका १० वटै वडाबाट सिफारिस भएर आएका विपन्न परिवारलाई सो सहयोग उपलब्ध गराइएको हो । दमक नगरपालिकामा ४ हजार २ सय अति विपन्न परिवार रहेको बुझिएको छ । ति सबैलाई आगामी वर्षहरुमा आवश्यक सहयोग गर्ने नगरपालिकाको नीति रहेको छ । खाद्यान्न सामग्री वितरण कार्यक्रम नगरपालिका सामाजिक विकास समिति संयोजक शारदा सापकोटा भट्टराईको अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्कीको पनि विशेष उपस्थिति रहेको थियो ।
