दमक/ ३४ औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस देशभर विविध कार्यक्रम गरी मनाइएको छ । यसै सन्दर्भमा मंगलबार झापाको दमक नगरपालिकाले ज्येष्ठ आमा बुवालाई स्याहार गर्ने उत्कृष्ट छोरा बुहारी तथा छोरीहरुलाई उत्कृष्ट स्याहारकर्ताका रुपमा नगदसहित सम्मान गरेको छ । ज्येष्ठ आमा बुवाको स्याहार गर्ने कुरामा सन्तानहरुमा थप उत्प्रेरणा र हौसला मिलोस् भनेर नगरपालिकाका सबै वडाबाट सिफारिस भएका उत्कृष्ट स्याहारकर्ताहरुलाई सम्मान गरिएको नगरपालिकाका प्रमुख राम कुमार थापाले प्रष्ट पारेका छन् ।
नगरपालिकाको सभाहलमा आयोजना गरिएको कार्यक्रममा सम्मानित हुने उत्कृष्ट स्याहारकर्तामा वडा नं. १ बाट भागिरथा न्यौपानेकी बुहारी सावित्रादेवी न्यौपाने, २ बाट भवानी प्रसाद र भविता तिम्सिनाका बुहारी निर्मला तिम्सिना कट्टेल, ३ बाट गोमादेवी भण्डारीकी बुहारी राधिका भण्डारी, ४ बाट मधुसुदन र धनमाया काफ्लेका छोराबुहारी गोपाल काफ्ले र अञ्जु काफ्ले, ५ बाट जानुकादेवी भट्टराईकी बुहारी तुलसा भट्टराई र ६ बाट छत्रबहादुर बस्नेतकी बुहारी लक्ष्मीकुमारी विष्ट रहेका छन् । त्यसैगरी नगरपालिकाबाट सम्मानित हुनेमा वडा नं. ७ बाट जयबहादुर महत र देवकुमारी महतकी छोरी टिका भण्डारी, ८ बाट बलराम जैसी र हरिकला जैसीकी बुहारी सीता जैसी, ९ बाट डिल्लीप्रसाद निरौलाकी छोरी शान्ति कटुवाल र १० का अच्युतदासी सापकोटा र हेमकुमारी सापकोटाका छोराबुहारी देवराज सापकोटा र रेजिना खनाल सापकोटा रहेका छन् । स्याहार पाउने र स्याहार गर्ने दुवै पक्षलाई कार्यक्रममा बोलाएर पस्मिनाको गाम्छा, खादा, सम्मान पत्र र नगद २५०० रुपैयाँले सम्मान गरिएको हो । पस्मिनाको गाम्छा, नगद र सम्मान पत्र भने स्याहारकर्तालाई प्रदान गरिएको छ । ज्येष्ठ आमा बुवालाई नगरपालिकाको कार्यालय सम्म ल्याउनका लागि यातायात खर्च पनि उपलब्ध गराइएको थियो ।
सो सम्मान दमक नगरपालिका प्रमुख राम कुमार थापा, उप-प्रमुख रेगिना भट्टराई प्रसाई, प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्कीले उत्कृष्ट स्याहारकर्तालाई प्रदान गरे । त्यसैगरी इलाका प्रशासन कार्यालय दमकका प्रमुख झरेन्द्र प्रसाद चापागाई, इलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायव उपरीक्षक निशान थापा, वडाध्यक्षहरु क्रमशः १ का हरि प्रसाद न्यौपाने, ६ का टेक बहादुर थापा र ८ का धर्मप्रसाद (दिपेश) दाहाल पनि पालैपालो सम्मान गर्ने कार्यमा सरिक भएका थिए ।
सम्मान कार्यक्रममा बोल्दै दमक नगर प्रमुख राम कुमार थापाले अघिल्लो वर्षदेखि नगरमा संचालनमा रहेको ९० वर्षमाथिका ज्येष्ठ नागरिकको घरघरमा गएर निःशुल्क औषधोपचार गर्ने क्रममा कतिपय ठाउँमा ज्येष्ठ बुवा आमाहरुलाई पशुचौपाया सँगै त कतिपय ठाउँमा लामो समयदेखि बिरामी अवस्थामा राखिएको पाउँदा दुः ख लागेको खुलासा गरे । तर घरदैलो उपचारका क्रममा यस्तो प्रवृत्तिमा सुधार आएको र ज्येष्ठ बुवा आमाहरुलाई स्थानीय सरकारले पनि विशेष महत्व दिएको देखेपछि सम्बन्धित घरपरिवारका सदस्यहरुमा पनि विशेष ख्याल गर्नुपर्ने रहेछ भन्ने भावनाको विकास हुन थालेको पाइएको नगर प्रमुख थापाको कथन थियो । तैपनि समग्रमा दमकमा ज्येष्ठ नागरिकको अवस्था तुलनात्मक रुपमा अन्यत्र भन्दा भने केही राम्रो रहेको पाइएको पनि उनले सुनाए ।

नगर उप-प्रमुख रेगिना भट्टराई प्रसाईले पनि ज्येष्ठ नागरिकहरुलाई सम्मानित र मर्यादित व्यवहार गर्नु सम्बन्धित सबैको कर्तव्य र दायित्व रहेको स्मरण गराइन् । कार्यक्रमको अध्यक्षता गरेकी नगरपालिका सामाजिक विकास समितिकी संयोजक शारदा सापकोटा भट्टराईले ज्येष्ठ नागरिकलाई हरेक घरमा सम्मान र मर्यादापूणर् व्यवहार गर्ने कुरामा सन्तानहरुमा उत्प्रेरणा प्रदान गर्ने कुरामा विशेष ध्यान दिनुपर्ने आवश्यकता रहेको प्रकाश पारिन् । इलाका प्रशासन कार्यालय दमकका प्रमुख झरेन्द्र प्रसाद चापागाईले सन्तानहरु विदेशिँदा वा घरबाहिर रहँदा ज्येष्ठ नागरिकले एक्लो जीवनयापन गरिरहनुपरेको अवस्था रहेकाले राज्यले उनीहरुको संरक्षण र सामाजिक सुरक्षामा विशेष चासोको साथ काम गर्नुपर्ने दिन आएको तर्फ सबैको ध्यानाकृष्ट गराए । कार्यक्रम संचालनकर्ता नगरपालिका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख सरिता भण्डारीले ज्येष्ठ नागरिकको संरक्षण र सामाजिक सुरक्षा गर्नु सबैको दायित्व भएको बताउँदै त्यसका लागि मद्दत पुगोस् भनेर स्याहारकर्तामा हौसला र उत्प्रेरणा जगाउनेगरी अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका दिन यस्तो कार्यक्रम गरिएको बताइन् । कार्यक्रममा नेकपा एमालेका दमक नगर अध्यक्ष राम पौडेल, राप्रपाका दमक अध्यक्ष हेम सुवेदी र दमक अपाङ्ग संघका अध्यक्ष खगेन्द्र भट्टराईको आतिथ्यता तथा नगरपालिकाका विभिन्न शाखाका प्रमुख लगायतका कर्मचारी, विभिन्न संघ संस्थाका प्रतिनिधि, संचारकर्मी, ज्येष्ठ नागरिक र उनीहरुका स्याहारकर्ता लगायतको सहभागिता रहेको थियो ।
ज्येष्ठ नागरिक संघ दमकको कार्यक्रम
ज्येष्ठ नागरिक संघ दमक नगर समितिले पनि अक्षयकोष दाता र ज्येष्ठ आमा बुवालाई सम्मान गरेर अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाएको छ । त्यस अवसरमा संघको दोश्रो वार्षिक साधारण सभा पनि सम्पन्न गरिएको छ ।

दिवसका अवसरमा सम्मानित हुने अक्षयकोष दातामा तिलमाया संग्रौला, रघुनाथ खरेल र अर्जुन सिटौला रहेका छन् भने आजीवन ज्येष्ठ सदस्यहरु यामबहादुर अधिकारी, चन्द्रप्रसाद नेपाल, तेजप्रसाद कार्की, सरस्वती अधिकारी ढुंगाना र निलकण्ठ भट्टराईलाई सम्मान पत्र, दोसल्ला र मालाले सम्मान गरिएको छ । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि दमक नगरपालिका-८ का वडाध्यक्ष धर्मप्रसाद दाहाल (दिपेश), ज्येष्ठ नागरिक संघ दमकका अध्यक्ष लक्ष्मीप्रसाद थपलिया र पूर्वअध्यक्ष रघुनाथ खरेल, कोशी प्रदेश ज्येष्ठ नागरिक महासंघका सचिव जयप्रसाद संग्रौला, हरि नेपाल स्मृति प्रतिष्ठानका अध्यक्ष नेत्रप्रसाद दाहालले सम्मान पत्र, दोसल्ला, माला र टीका लगाएर सम्मान गरे । सम्मान पश्चात् शुभकामना मन्तव्य राख्दै वडाध्यक्ष दाहालले ज्येष्ठ नागरिकको संरक्षण, सम्मान र मर्यादा गर्नु राज्यको दायित्व भएको बताए । कोशी प्रदेश ज्येष्ठ नागरिक महासंघका सचिव संग्रौला, सामाजिक व्यक्तित्व लक्ष्मीप्रसाद संग्रौला, हरि नेपाल स्मृति प्रतिष्ठानका अध्यक्ष नेत्रप्रसाद दाहाल, संघका पूर्वअध्यक्ष रघुनाथ खरेल र लेखा समिति संयोजक कृष्णप्रसाद लुइँटेलले शुभकामना मन्तव्य राख्दै ज्येष्ठ नागरिकहरुमाथि हुने गरेका दुव्र्यवहार न्यूनीकरण गर्दै नयाँ पुस्तामा नैतिक शिक्षा दिइ ज्येष्ठहरुप्रति आदर र सम्मानभाव जगाउनुपर्ने खाँचो औंल्याए ।
साधारण सभा समेत रहेको सो कार्यक्रममा संघका अध्यक्ष थपलियाको तर्फबाट सचिव गंगाप्रसाद संग्रौलाले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुका साथै कार्यक्रम संचालन गरेका थिए भने स्वागत मन्तव्य उपाध्यक्ष बेनु प्रसाद चुडालले गरेको कोषाध्यक्ष तुलाराम बाँस्तोलाले जानकारी गराए । कार्यक्रममा संघ दमक नगर समिति सदस्य पम्फा दाहाल लगायतको आतिथ्यता रहेको थियो ।

ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठानको कार्यक्रम

ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठान नेपालले पनि दमक-५ स्थित केन्द्रीय कार्यालयको हातामा भव्य कार्यक्रम गरी सर्वज्येष्ठ बुवाका रुपमा दमक-३ निवासी १०० वर्षीय टठ बहादुर निरौला र सर्वज्येष्ठ आमाका रुपमा दमक-५ निवासी १०१ वर्षीया हरिमाया बराललाई सम्मान गरेको छ । त्यस अवसरमा असल ज्वाइँ दमक-३ का तुलसीराम सुवेदी र असल बुहारीका रुपमा दमक-५ निवासी गीता निरौलालाई पनि सम्मान पत्र र दोसल्लाले सम्मान गरिएको छ । उनीहरुलाई कार्यक्रममा प्रमुख अतिथि रहेकी दमक नगरपालिका उप-प्रमुख रेगिना भट्टराई प्रसाई र प्रतिष्ठानका केन्द्रीय अध्यक्ष दुर्गाप्रसाद पौडेलले सम्मान गरेका हुन् । ३४ औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका दिन पारेर प्रतिष्ठानको २१ औं वार्षिक साधारण सभा पनि सम्पन्न गरिएको छ ।
कार्यक्रममा प्रमुख अतिथि दमक नगर उप-प्रमुख भट्टराई, दमक-६ का वडाध्यक्ष टेक बहादुर थापा, प्रतिष्ठानका सल्लाहकार समिति अध्यक्ष कमलप्रसाद दाहालले शुभकामना मन्तव्य राखेका थिए भने स्वागत मन्तव्य उपाध्यक्ष शिव प्रसाद काफ्ले र कार्यक्रम संचालन सह-सचिव उर्मिला भट्टराईले गरेकी थिइन् । प्रतिष्ठाका केन्द्रीय अध्यक्ष पौडेलले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गरेकोमा बन्द सत्रमा आवश्यक छलफल गरी पारित गरिएको जानकारीमा आएको छ ।
