कमल/ झापाको कमल-५ स्थित लगनशिल कृषि सहकारी संस्थाको १७ औं वार्षिक साधारण सभा ज्येष्ठलाई सम्मान सहित संस्थामा उत्कृष्ट कारोबार गर्ने र उत्कृष्ट कृषक तथा पशुपालकहरुलाई सम्मान तथा पुरस्कार वितरण गर्दै सम्पन्न भएको छ । आइतबार स्थानीय रोड स्टार पाटी प्यालेसमा आयोजना गरिएको भव्य साधारण सभामा कमल गाउँपालिका-५ का वडाध्यक्ष लाल बहादुर (एल.बी.) विष्ट प्रमुख अतिथि रहेका थिए । प्रमुख अतिथिका रुपमा वडाध्यक्ष विष्टले लगनशिल सहकारी संस्थाले आफ्नो उद्देश्यअनुरुप कृषि क्षेत्रको काम गर्नुका साथै स्थानीय कृषकहरुमा वचत र ऋण परिचालन समेतको काम गरेर आजसम्म महत्वपूणर् उपलब्धि हात पारेको बताए ।
वडाध्यक्ष विष्टले सहकारी क्षेत्रमा देखापरेको संकट र उतार चढावका बावजुद नीति, विधि र नियमसंगत काम गरिरहेको वर्तमान अवस्था र कार्यशैलीलाई निरन्तरता दिनुपर्ने सुझाव समेत दिए । उनले नेपाल कृषि प्रधान देश भएको सन्दर्भमा अधिकांश जनता आवद्ध रहेको पेशा व्यवसायलाई लक्षित गरेर स्थापना गरिएको सहकारीलाई सही ढंगले संचालन भएको अवस्थामा स्थानीय पालिकाले पनि आवश्यक सहयोग, समन्वय र सहकार्य गर्ने स्पष्ट पारे । कार्यक्रममा विशेष अतिथि रहेका सुम्निमा कृषि सहकारी संस्थाको अध्यक्ष तथा सहकारी समन्वय समिति कमलका सदस्य प्रमोद कुमार दाहालले सहकारीको व्यवस्थापन र संचालनमा पारदर्शीता र शेयर सदस्यप्रतिको जवाफदेहीतामा ध्यान दिए कुनै समस्या नआउने बताए । लगनशिल कृषि सहकारी संस्थाका अध्यक्ष गोविन्द खनालले संस्थाको वस्तुगत स्थिति र भावी नीति तथा कार्यक्रम सहितको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने उपाध्यक्ष टीका खड्का खत्रीले स्वागत मन्तव्य राखेकी थिइन् ।
सचिव भिष्म प्रसाद सिटौलाले संचालन गरेको कार्यक्रममा शेयर सदस्य शुक्र बहादुर अधिकारीले स्वागत गीत र सहकारीकर्मी टंक प्रसाद गजुरेलले ‘लगनशिल’ शिर्षक कविता वाचन गरेका थिए । साविक लखनपुर गाविस अध्यक्ष भोजकुमार घिमिरे, नवोदय बहुउद्देश्यीय सहकारी संस्थाका कार्यवाहक अध्यक्ष बलराम गजुरेल, लखनपुर सामुदायिक खानेपानी तथा सरसफाई उपभोक्ता समितिका नवनिर्वाचित अध्यक्ष डम्बरबहादुर निरौला, खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ झापाका अध्यक्ष उषा भण्डारी, सहकारीकर्मीहरु वीरेन्द्र तिवारी, विनोद पाण्डे, वासुदेव चापागाई, पत्रकारहरु लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा ज्येष्ठ शेयर सदस्य, उत्कृष्ट ज्येष्ठ वचतकर्ता, वचत तथा ऋणका उत्कृष्ट कारोबारी, बाल वचतकर्ता, उत्कृष्ट कर्मचारी तर्फ कुल प्रसाद भट्टराई, एसईईमा उत्कृष्ट ४ जीपीए ल्याउने कुशिका बस्नेत, उत्कृष्ट तकारी खेती किसान, उत्कृष्ट मेहनती किसान, सहकारीमा वर्षभरि धेरै दूध ल्याउने किसान, उत्कृष्ट गाई भैंसीपालक किसान लगायतलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको व्यवस्थापक तिलक कार्कीले बताए ।
