दमक/ दमकको पूर्वोत्तर क्षेत्रका बासिन्दाहरुलाई लक्षित गरेर वडा नं. ३ को पिपिरेमा बेलडाँगी बजार संचालनमा आएको छ । प्रत्येक दिन खुल्ने र हप्ताको एक दिन मंगलबार हाटबजार लाग्ने सो बजारको मंगलबार एक औपचारिक कार्यक्रमका बीच दमक नगरपालिका प्रमुख राम कुमार थापाले शुभारम्भ गरे । शुभारम्भ कार्यक्रममा विशेष अतिथिका रुपमा नगर उप-प्रमुख रेगिना भट्टराई प्रसाईले पनि साथ दिएकी थिइन् ।
हाटबजार शुभारम्भ भएको दिन मंगलबार दिउँसो बेलडाँगी र आसपासका बासिन्दाहरुको निकै चहलपहल देखिन्थ्यो । नगरपालिकाका वडाध्यक्षहरु क्रमशः १ का हरि प्रसाद न्यौपाने, ३ का नविन बराल, ६ का टेक बहादुर थापा, ७ का भिम प्रसाद पौडेल र ८ का धर्मप्रसाद (दिपेश) दाहालका साथै कार्यपालिका सदस्य देवका भुजेल, निमित्त प्रमुख प्रशासकीय अधिकृत यज्ञराज निरौला, विभिन्न शाखाका प्रमुख, वडा नं. ३ का वडा सचिव बालकृष्ण कोइराला, वडा नं.३ का वडा सदस्य गजेन्द्र धिमाल लगायतको आतिथ्यता रहेको थियो । सो बेलडाँगी बजार १५ कठ्ठा स्थानीयवासीको जग्गामा १५ वर्षे लिजमा लिएर दमक नगरपालिका, लुथरन वल्र्ड फेडरेशन र शरणार्थी सम्बन्धी उच्चस्तरीय आयोग (युएनएचसीआर) को लागत सहभागितामा भौतिक संरचना सहित व्यवस्थित रुपमा निर्माण गरी संचालनमा आएको हो ।
नगरपालिका राजश्व प्रशासन शाखा प्रमुख डम्बर राज बरालका अनुसार बेलडाँगी बजारमा ३० वटा पक्की पसल कवल, १२ वटा माछा/मासु कबल र २० वटा सब्जी तथा फलफूलका स्टलका लागि व्यवस्थित संरचना बनाइएको छ । ती पसल कलबहरु न्यूनतम भाडादरमा स्थानीय भुटानी शरणार्थी व्यापारी व्यवसायी तथा स्थानीय व्यवसायीहरुलाई व्यापार व्यवसाय गर्नका लागि नगरपालिकाले सम्झौता गरेर उपलब्ध गराएको छ । यो बजार भुटानी शरणार्थी र स्थानीय नेपालीमैत्री बजार पनि भएको र यसको संचालन एवं व्यवस्थापनका लागि सकेको सहयोग गर्ने कुरा हाटबजार शुभारम्भ कार्यक्रमका प्रमुख अतिथि दमक नगर प्रमुख राम कुमार थापाले बताए । स्थानीयलाई आफ्नो उत्पादन विक्री गर्न र बाहिरबाट आउने साथै स्थानीय उत्पादनका दैनिक उपभोग्य सामग्रीहरु खरिद गरी उपभोग गर्न सहयोग पुगोस् भनेर बेलडाँगी बजार संचालनमा ल्याइएको पनि नगर प्रमुख थापाले प्रष्ट पारे ।
सो बजारमा किराना, लत्ताकपडा, जुत्ताचप्पल, अचार, कलाकृति, लघु उद्यमका बस्तुहरु, खाद्यान्यका सामग्री, माछा/मासु, सब्जी तथा फलफूल, होटल, कोल्ड स्टोर लगायतको व्यापार व्यवसाय रहेको छ । बजार अगाडि रहेको ३ कठ्ठा जग्गामा चाँडैनै पशुचौपायाको हाट बजार लगाइने योजना रहेको पनि जानकारी गराइएको छ ।
त्यस अवसरमा नगर उप-प्रमुख रेगिना भट्टराई प्रसाईले बेलडाँगी बजारको प्रचार प्रसार, व्यवस्थापन र यसलाई चलायमान गराउने कुरामा स्थानीय शरणार्थी तथा नेपाली बासिन्दाहरुको भूमिका र त्यसको सदुपयोग आवश्यक भएको बताइन् । दमक-३ का वडाध्यक्ष नविन बरालले आफ्नो वडामा बनेको यो बेलडाँगी बजार वडाकै गहना भएकाले सबैले यसबाट लाभ लिन सक्नुपर्ने र सहभागिता बढाउनुपर्ने कुरामा ध्यान दिन आग्रह गरे । कार्यक्रममा दातृसंस्था लुथरन वल्र्ड फेडरेशन (एलडब्लुएफ) का को-अर्डिनेटर डा. सुवास गुरुङ, दमक उद्योग वाणिज्य संघको अध्यक्ष गोपाल गुरागाई, वस्ती व्यवस्थापन समिति (भुटानी शरणार्थी शिविर) का सचिव सञ्चहाङ सुब्बा, हंसेदुम्से वन उपभोक्ता समितिका अध्यक्ष चन्द्र गुरागाई लगायतले शुभकामना मन्तव्य राखेका थिए । इलाका प्रशासन कार्यालय दमकका प्रमुख झरेन्द्र प्रसाद चापागाई र इलाका प्रहरी कार्यालय दमकका प्रमुख निशान थापा, नेपाल रेडक्रस सोसाईटी दमकको सभापति प्रकाश बुढाथोकीको पनि कार्यक्रममा आतिथ्यता रहेको थियो ।
कार्यक्रम संचालन नगरपालिका राजश्व प्रशासन शाखा प्रमुख डम्बर राज बरालले गरेका थिए । यो बजार संचालनमा आएसँगै दमकमा सेतुमारी, नयाँ सब्जीसहितको मुख्य बजार, दमक-८ को अर्गानिक बजार र पशुहाट बजारसँगै चार ठाउँमा बजार व्यवस्थापन भएको छ । बजार विस्तारसँगै नगरपालिकाको आयआर्जनमा समेत वृद्धि हुने अपेक्षा गरिएको छ भने व्यापार व्यवसायमा अभिवृद्धि हुनुका साथै दमक र आसपासका बासिन्दालाई समेत सुविधा पुगेको छ । बेलडाँगी बजारबाट भुटानी शरणार्थी र स्थानीय नेपालवासीलाई राहत मिल्ने अपेक्ष ागर्न सकिन्छ