दमक/झापाको दमक-८ स्थित कञ्चनजंघा बहुउद्देश्यीय सहकारी संस्थाको इकाइगत वार्षिक साधारण सभा शुरु भएको छ । आइतबार संस्थाको मुख्य कार्यालय दमकबाट शुरु भएको २५ औं वार्षिक साधारणसभा आज सोमबार डुडामारी र कनकाई सेवा कार्यालय, भोली मंगलबार मोरङको पथरी शनिश्चरे र मिक्लाजुङ सेवा कार्यालय, भदौ २० गते शुक्रबार उर्लाबारी सेवा केन्द्र तथा २१ गते शनिबार झापाको गौरादह सेवा केन्द्रमा हुँदैछ । भदौ २९ गते भने उत्कृष्ट कारोबारी सहितलाई पुरस्कार सँगै माइन्यूट प्रमाणीकरण गरेर साधारण सभाको समापन गरिने व्यवस्थापक निलकण्ठ निरौलाले जानकारी गराएका छन् ।
आइतबारको दमक र कमलको इकाइगत साधारणसभामा प्रमु्ख अतिथि रहेका कोशी प्रदेश सभा सांसद होमबहादुर थापाले शुभकामना मन्तव्य राख्दै सदस्यमा आधारित संस्था भएकाले कञ्चनजंघा अहिलेको विषम परिस्थितिमा पनि सुरक्षित र भरपर्दो संस्था रहेको बताए । शेयर सदस्यहरुको वचत र ऋण कारोबारका लागि संचालक, कर्मचारी मात्र होइन, स्वयं शेयर सदस्यहरु पनि उत्तिकै जिम्मेवार र चनाखो रहनुपर्ने आवश्यकता उनले औंल्याए । सहकारी क्षेत्रले अहिलेको अवस्थामा राज्यको आर्थिक मेरुदण्डको काम गरेको उनको भनाई थियो ।
कार्यक्रमको अध्यक्षता गरेका संस्थाका अध्यक्ष मणिकुमार भण्डारीले ५१ जना शेयर सदस्यको सानो रकमबाट शुरु भएको कञ्चनजंघा सहकारी आजको दिनसम्म आइपुग्दा ३२८८ शेयर सदस्य पुर्याएर करोडौंको कारोबार गर्न सफल भएकोमा यसलाई अझै सुदृढ, मजबुत र व्यवस्थित बनाएर अघि बढाउनुपर्ने बताए । वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष भण्डारीले हाल संस्थामा ६ करोड ५१ लाख ७५ हजार शेयर पुँजी रहेको, ५३ करोड ७४ लाख ३४ हजार ८९ वचत हिसाब रहेको र कर्जा लगानी ६३ करोड १० लाख ७० हजार ३२२ रुपैयाँ रहेको पनि उल्लेख गरे । दमक-८ का वडाध्यक्ष धर्मप्रसाद (दिपेश) दाहालले पनि शुभकामना मन्तव्य राखेको कार्यक्रममा उपाध्यक्ष भरत कुमार चम्लागाईले स्वागत मन्तव्य र कार्यक्रम संचालन व्यवस्थापक निलकण्ठ निरौलाले गरेका थिए । साधारणसभामा संस्थाको वार्षिक प्रतिवेदन पनि सार्वजनिक गरी सहभागी शेयर सदस्यहरुलाई वितरण गरिएको थियो ।
अर्थ/सहकारी
समाचार
कञ्चनजंघा सहकारीको इकाईगत साधारणसभा शुरु सदस्यमा आधारित भएकाले सुरक्षित र भरपर्दो भएको भनाई
- by ज्येष्ठ आवाज
- September 2, 2024
- 0 Comments
- 120 Views
- 6 months ago
