अर्थ/सहकारी समाचार

प्रशान्ति महिला सहकारीको १२ औं साधारणसभा, सहकारी क्षेत्रमा जोखिम बढेकाले सावधानी अपनाउन जोड

दमक/ सहकारीको कारोबार जति बढ्यो, संचालन र व्यवस्थापनको कार्यमा जोखिम पनि त्यत्तिकै बढ्दै जाने भएकाले संचालक र कर्मचारीहरुले सावधानी अपनाउनुपर्नेमा सहकारी अभियन्ताहरुले जोड दिएका छन् । हिजोका दिनमा सहकारी संस्थाहरु बजारमा बिकेका र टिकेका थिए, तर आज त्यस्तो अवस्था नरहेको तर्फ पनि उनीहरुको ध्यानाकृष्ट भएको छ । झापाको दमक-५ स्थित प्रशान्ति महिला वचत तथा ऋण सहकारी संस्थाको १२ औं वार्षिक साधारण सभा तथा तीज विशेष कार्यक्रममा शुभकामना मन्तव्य दिने क्रममा सहकारी अभियन्ता वक्ताहरुले यस्तो बताएका हुन् ।
सहकारी संस्थाहरुबाट सामाजिक तथा आर्थिक रुपान्तरणमा पुरुष होस् या महिला सबै शेयर सदस्यलाई ठूलो टेवा पुगेको भएपनि यो क्षेत्रमा पछिल्ला दिनमा समस्या र चुनौतीहरु पनि उत्तिकै रहेकाले सचेत हुन कार्यक्रमकी प्रमुख अतिथि रहेकी सो सहकारी संस्थाकी संस्थापक अध्यक्ष तथा वुद्धिजीवी राधिका ओझाले स्पष्ट पारिन् । उनले प्रशान्ति जस्ता महिलाहरुले स्थापना गरेको सहकारीहरुले महिला सशक्तीकरण, जागरण र आत्मनिर्भरताका लागि महत्वपूणर् टेवा पुर्‍याएको भन्दै तर सहकारी क्षेत्रलाई थप व्यवस्थित र विश्वसनीय बनाउनुपर्ने आवश्यकता रहेको औंल्याइन् ।
जिल्ला सहकारी संघ झापाका लेखा संयोजक चूडामणि ओझाले सरकारले पनि सहकारी संस्थाहरुको नियमन र अनुगमनको कार्यमा कडाइ गर्न थालेकोले संचालक र कर्मचारीहरुले आफूखुशी विधि र प्रकृयालाई कम आंकलन गरेर शेयर सदस्यहरुको मुख हेरेर मात्र काम गर्ने दिनको अन्त्य हुने बताए । जम्मा भएको वचतलाई ऋणका रुपमा परिचालन गर्दा असुली हुने र धितो रहेको हकमा मात्र परिचालन गर्ने कुरामा ध्यान दिन आग्रह गर्दै सहकारी संस्थालाई प्रविधिमैत्री बनाउने र कारोबार बढाउने कुरामा पनि उत्तिकै ख्याल पुर्‍याउनुपर्ने उनको भनाई थियो । सरकारले ल्याउन लागेको नयाँ नियममा सहकारी संस्थाका पदाधिकारीहरु कोही पनि दुई कार्यकाल भन्दा बढी रहन नपाउने नियम आउन लागेकाले वर्षौंसम्म एउटै व्यक्ति या समूहको हालीमुहाली हुने र मनोमानी गर्ने दिनको अन्त्य हुन लागेको पनि उनले स्पष्ट पारे । यसबाट सहकारी संस्थाहरु धराशायी हुने र बद्नाम हुने क्रम पनि रोकिने उनको आशय थियो । सुशासन, पारदर्शिता र जवाफदेही भएर संचालन भएका सहकारीहरुले मात्र अब शेयर सदस्य र सर्वसाधारणको विश्वास र मन जित्ने उनको भनाईको संकेत रहेको थियो ।
साधारण सभाको उद्घाटन कार्यक्रममा प्रशान्ति महिला सहकारीका अध्यक्ष अम्बिका अधिकारीले संस्थाको वार्षिक प्रतिवेदन पेश गर्दै संस्थाको शेयर पुँजी ३६ लाख ३७ हजार र ३५० जना शेयर सदस्य रहको जानकारी गराइन् । उनले गत आर्थिक वर्षको निक्षेप १ करोड ९२ लाख ५८ हजार ६१८ रहेको पनि बताइन् । कार्यक्रममा ज्येष्ठ शेयर सदस्यतर्फ लक्ष्मी कडुवाल, उत्कृष्ट वचततर्फ देवकला उप्रेती, उत्कृष्ट ऋणीतर्फ देवकुमार चौहान र कमला कार्की तथा उत्कृष्ट बाल वचततर्फ नेहारिका कुमाल मगर र अक्क्षेता श्रेष्ठलाई नगद, प्रमाण पत्र र उपहारले सम्मान गरिएको थियो । सहकारीकी उपाध्यक्ष उषा ओझा सुवेदीले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन सचिव शुभद्रा ढकाल अधिकारीले गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *