पंकज दाहाल
दमक/ दमक नगरपालिकामा निर्माणाधीन अवस्थामा रहेको नगरकै गौरवको आयोजना मदनडाँगी डिपु ताराबारी सडक निर्माणको कार्य देशभरिमै उत्कृष्ट सावित भएको छ । देशका १७ पालिकाहरुमध्ये दमक नगरपालिका यो विकास निर्माणको कार्यमा भएको प्रगति र व्यवस्थापनका लागि उत्कृष्ट ठहरिएको हो । यसका लागि दमक नगरपालिकाले शहरी विकास मन्त्रालय शहरी विकास तथा भवन निर्माण विभागबाट प्रशंसा सहित सम्मान पत्र समेत पाएको छ ।
हालै राजधानी काठमाडौंको शंकर होटलमा आयोजित कार्यक्रममा शहरी विकास मन्त्रालयका सचिव मणिराम गेलालले दमक नगरपालिका प्रमुख राम कुमार थापालाई सडक निर्माणको कार्य उत्कृष्ट र व्यवस्थित ढंगबाट गर्ने कुरामा समन्वय र सहकार्यको अनुपम उदाहरण प्रस्तुत गरेको भन्दै प्रशंसासहित सम्मान पत्र प्रदान गरेका हुन् । मदनडाँगी डिपु ताराबारी नमुना सडक विश्व बैंकको ऋण तथा नेपाल सरकारको अनुदान सहयोगमा दमक नगरपालिका मातहत निर्माण भइरहेको सडक परियोजना हो । यसमा हालसम्म ५० प्रतिशत भौतिक प्रगति भएको परामर्शदाता कम्पनीका टिम लिडर ईन्जिनियर किरण कुमार महतले जानकारी गराएका छन् ।
नेपाल शहरी शासकीय पूर्वाधार आयोजनाले आयोजना गरेको समीक्षा बैठक तथा कार्यक्रममा दमक नगरपालिकाका तर्फबाट नगर प्रमुख थापा, प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्की, पूर्वाधार शाखा प्रमुख अनन्त सेनेहाङ लगायतको सहभागिता रहेको थियो भने नेपाल शहरी शासकीय पूर्वाधार आयोजनाका निर्देशक डा. युवराज पौडेल, परामर्शदाता कम्पनीका टिम लिडर ईन्जिनियर किरण कुमार महतको पनि उपस्थिति रहेको थियो । विकास निर्माणको काममा नगरपालिका नेतृत्वको गम्भीर चासो, सक्रियता र सक्षमतालाई यो सम्मानले पुष्टि गरेको नगरपालिको स्रोतले जनाएको छ । नगर प्रमुख थापाले भने देशभरिमै भइरहेका विश्व बैंक अन्तर्गतका परियोजनाहरुमध्ये उत्कृष्ट कार्यसम्पादन गरेकोमा प्रशंसा र सम्मान पाउनुले आपूmहरुको र दमक नगरपालिकाको गरिमा र पहिचानलाई उचो बनाएको प्रतिक्रिया दिए । नगर प्रमुख थापाले यसबाट दमक नगरपालिका विकास निर्माणका गतिला र ठूला सडक निर्माणको परियोजनाहरु संचालन गर्न र जनताको विश्वास जित्न सफल रहने कुराको सन्देश यसबाट गएको बताए ।
मदनडाँगी डिपु ताराबारी सडकमा हालसम्म १९ मध्ये १८ वटा कल्भर्ट बनिसकेका छन् भने ड्रेन र सव-ड्रेनको काम भइरहेको छ । सब बेसको काम सम्पन्न भइसकेको छ भने इन्टर लकिङको काम भइरहेको छ ।
विश्व बैंकको ऋण र नेपाल सरकारको अनुदानमा निर्माण भइरहेको सडकको लम्बाई ४ दशमलव ८६ किलोमिटर र चौडाइ १५ मिटरको रहेको छ । २६ जुन २०२३ बाट निर्माण शुरु भएको सडक आगामी २०२५ जुन २५ मा निर्माण सम्पन्न गर्ने सम्झौता छ । सडकमा साइकल लेन, ड्रेन, फुटपाथ र विरुवा रोप्ने ठाउँ समेत व्यवस्था गरिएको छ । सडक निर्माणको काम सन्तोषजनक रहेको छ । पटक पटक नगरपालिका नेतृत्व र प्राविधिकको टोलीबाट अनुगमनको काम समेत भइरहेको छ । नमुना सडक निर्माणको काममा अपेक्षित र भनेजस्तो प्रगति भएकाले नै सरकारले पनि सम्मान र प्रशंसा पत्र प्रदान गरेको प्रष्ट हुन्छ ।
