समाचार

लखनपुर खानेपानीमा लोकतान्त्रिक साझा समूहले गर्‍यो उम्मेदवारी घोषणा

अध्यक्षमा न्यौपाने, लेखा संयोजकमा भट्टराई, प्रतिवेदन सम्बन्धी विवाद भने कायमै

कमल/ लखनपुर सामुदायिक खानेपानी तथा सरसफाई उपभोक्ता समितिको आगामी निर्वाचनका लागि लोकतान्त्रिक साझा समूहले एक औपचारिक कार्यक्रम गरी आफ्ना उम्मेदवारहरु सार्वजनिक गरेको छ । स्थानीय रोड स्टार पाटी प्यालेसमा उम्मेदवार घोषणा कार्यक्रम गरी नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र लगायतका पार्टीहरुको तर्फबाट शनिबार उम्मेदवारी घोषणा गरिएको हो ।
झापाको कमल गाउँपालिका-५ मा रहेको सो खानेपानीको संस्थाको अध्यक्षका लागि लोकतान्त्रिक साझा समूहबाट अध्यक्षमा काँग्रेसका राजकुमार न्यौपाने (राजु), उपाध्यक्षमा काँग्रेसकै दिनेश अधिकारी, सचिवमा माओवादी केन्द्रका निधिरत्न अधिकारी र सह-सचिवमा पनि विमला भट्टराईलाई अघि सारिएको छ । सो खानेपानी उपभोक्ता समितिले हाल कमलका वडा नं. ४, ५, ६ र ७ का ४९०६ घरधुरीमा धारा जडान गरी २४ सै घण्टा सेवा दिँदै आएको छ ।
लोकतान्त्रिक साझा समूहको लेखा समिति संयोजकमा भने सहकारीकर्मी काँग्रसकै धर्मानन्द भट्टराईलाई उम्मेदवार बनाइएको छ । उनले यसअघि देखिनै सोही पदको जिम्मेवारी सम्हालिसकेका छन् । अध्यक्ष, उपाध्यक्ष, सचिव र सह-सचिव भने नयाँ अनुहारहरु हुन् । लखनपुर खानेपानीलाई ५ वटा क्षेत्रमा विभाजन गरिएको छ । जसअनुसार क्षेत्र नं. १ बा सदस्यतर्फ पुण्य खतिवडा र कमला राई (गुरुङ), क्षेत्र नं. २ बाट भिष्म सिटौला र लोभिता राई (सविता), क्षेत्र नं. ३ बाट कृष्ण बहादुर पाण्डे, क्षेत्र नं. ४ बाट प्रेमबहादुर कार्की र सावित्रा दाहाल (उप्रेती) तथा क्षेत्र नं. ५ बाट टंक चम्लागाई र नैनकला सेढाईलाई सदस्यको उम्मेदवार बनाइएको छ । लेखा समिति सदस्यद्वयको उम्मेदवारमा भने सुरज कुमार कुमाल र मोनिका राईलाई खडा गरिएको छ ।
घोषणा सभामा अध्यक्षका प्रत्यासी उम्मेदवार न्यौपानेले खानेपानी उपभोक्ताहरुको हक, हित र सेवा सुविधाका लागि आफूले सकेसम्मको काम गर्ने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा प्रमुख अतिथि रहेका कमल गाउँपालिका अध्यक्ष हुकुमसिंह राई, विशेष अतिथि माओवादी केन्द्रका कोशी प्रदेश कोषाध्यक्ष रेवतराज (गगन) पुरी, कमल-५ का वडाध्यक्ष लाल बहादुर (एल.बी.) विष्ट लगायतले घोषित उम्मेदवारहरुलाई खानेपानी उपभोक्ताहरुको मन जितेर जिम्मेवारी पाउने स्थिति बनाउन आग्रह गर्दै शुभकामना दिए । काँग्रेस कमल गाउँ समिति अध्यक्ष खगेन भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा खानेपानीका वर्तमान उपाध्यक्ष राजेन्द्र संग्रौलाले स्वागत र माओवादी केन्द्रका कमल गाउँ कमिटी अध्यक्ष रविन गुरुङले कार्यक्रम संचालन गरेका थिए । कार्यक्रममा अध्यक्षका प्रत्यासी न्यौपानेले लखनपुर खानेपानीका विविध विषयलाई समेटेर २४ बुँदे प्रतिवद्धता पत्र सार्वजनिक गरेका थिए ।
असोजको दोश्रो सातातिर हुने निर्वाचनका लागि यसअघिनै एमाले, राप्रपा र जसपाले संयुक्त प्यानलसहितको उम्मेदवार घोषणा गरिसकेको छ । सो गठबन्धनबाट कमल-५ का पूर्ववडाध्यक्ष समेत रहेका डम्बर बहादुर निरौलालाई अध्यक्षको उम्मेदवारका रुपमा अघि सारिएको छ । लखनपुर खानेपानीमा भने १३ औं वार्षिक साधारण सभामा प्रस्तुत गर्न तयार गरी प्रकाशित समेत भइसकेको वार्षिक प्रतिवेदनमा लेखिएको केही अंशलाई लिएर विवाद भइरहेकोमा शनिबार बिहान बसेको सर्वदलीय बैठकमा पनि खास कुनै सहमति र निष्कर्ष ननिस्किएको
जानकारी प्राप्त भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *