दमक/ झापाको दमक नगरपालिकालाई वातावरणीय रुपमा स्वच्छ, सफा र हराभरा राख्न तथा फोहोरमैला व्यवस्थापनको कार्यलाई चुस्त पार्न कडाइका साथ अनुगमन अभियाननै संचालन गरिने भएको छ । वातावरण संरक्षण र स्वच्छता तथा फोहोरमैलाको उचित व्यवस्थापनका लागि दमक नगरपालिकाले बजार क्षेत्र लगायतमा रहेका घरधनी, व्यापारी व्यवसायीका लागि पालना गर्नुपर्ने नीति, नियम समेत ल्याएको छ । सो नीति नियम कार्यान्वयनका लागि यही साउन २८ गतेदेखि नगरका टोल टोलमा छिरेर पर्चा वितरण, प्रचार प्रसार र सम्बन्धित व्यक्तिहरुलाई कबुलियतनामा समेत गराइने भएको छ । यसका लागि सरोकारवालाहरुको प्रतिवद्धता समेत आइसकेको छ ।
नगरपालिकाले नगरलाई सफा सुन्दर हराभरा बनाउन विगतदेखिैनै नगरवासी घरधनी, व्यापारी, व्यवसायी र सरोकारवालाहरुसँग विभिन्न चरणमा अन्तरक्रिया र छलफल गरेर यस्तो योजना ल्याएको हो । यो योजना कार्यान्वयनमा नसघाउने र नियम उल्लंघन गर्नेहरुको सडकपेटीमा राखिएको सामान जफत गरिने र थप अवज्ञा भए कानुनी कारवाही गरिने दमक नगरपालिकाले जनाएको छ । शुक्रबार नगरपालिकाको सभाहलमा पत्रकार सम्मेलन गरी नगर प्रमुख राम कुमार थापाले घरधनीहरुले फोहोर संकलनमा सघाउन वर्गीकरण गरी राख्नुपर्ने, फोहोरको गाडी आएपछि मात्र फोहोर बाहिर दिनुपर्ने, सार्वजनिक ठाउँ या सडकपेटीमा व्यापार गर्न र व्यापारका सामानहरु राख्न नपाइने, सवारी साधनहरु तोकिएको क्षेत्रमा राख्नुपर्ने र सडकको दायाँ बायाँ अव्यवस्थित तवरले टाँगिएका केवार तथा इन्रनेटका तारहरु चाँडै हटाई व्यवस्थित गर्न सबैलाई अनुरोध गर्नुभयो ।
दमकमा निजी नेक्स्ट ईरा इनर्जीसँग मिलेर नगरपालिकाले फोहोर संकलन र व्यवस्थापनको कार्य गर्दै आएको छ । यो कार्यमा सबै नागरिक र उपभोक्ताहरुले सघाउनुपर्ने दायित्वलाई पनि मनन् गर्न नगर प्रमुख थापाले त्यस अवसरमा आग्रह गर्नुभयो । वातावरण समितिका संयोजक तथा वडा नं. ६ का वडाध्यक्ष टेक बहादुर थापाले यही साउन २८ गतेदेखि महिना दिनसम्म फोहोरमैला व्यवस्थापन र वातावरण संरक्षण गरी नगरलाई स्वच्छ, सफा र हराभरा बनाउन विशेष अभियान संचालन गरिने बताउनुभयो । यो अभियानमा नगरपालिकाका तर्फबाट जनप्रतिनिधि, कर्मचारी, दमक उद्योग वाणिज्य संघ, सुरक्षाकर्मी, प्रशासन साथै अन्य सरोकारवालाहरुको संयुक्त टोली परिचालन हुने उहाँले प्रष्ट पार्नुभयो ।
अभियानका क्रममा फुटपाथ व्यवस्थापन गरिने, घरको छतबाट ठीक ठाउँमा मात्र पानी खसाल्न दिइने, घरपालुवा जनावरलाई जथाभावी छोडन नदिइने, घरअगाडि अनिवार्य रुपमा दुई वटा विरुवा लगाउने, सेफ्टी ट्याङ्की बनाउँदा ढलको उचित निकास बनाउनुपर्ने, फुटपाथ र सडकपेटीमा व्यापारका सामान राख्न नपाइने, विहान ९ देखि बेलुकी ५ बजेसम्म नगर क्षेत्रमा मालवाहक सवारी साधन प्रवेशमा निषेध गरिने, ध्वनि प्रदूषण हुन नदिइने, सार्वजनिक सडक, चोतारामा हाट बजार लगाउन नपाइने तथा सार्वजनिक खोला नदी खोल्साहरुमा ढल मिसाउन नदिइने कार्यलाई कार्यान्वयन गर्न अपिल गरिने र सोहीअनुसार गर्न गराउने भनिने पनि बताइएको छ ।
बजार क्षेत्रमा सडकमा धुलो हुन नदिन ब्लुमर खरिदका लागि आवश्यक गृहकार्य र तयारी भइरहेको पनि नगर प्रमुख थापाले त्यस अवसरमा जानकारी गराउनुभयो । नेक्स्ट इरा इनर्जीको संचालक विमल खतिवडाले फोहोरमैला संकलन र व्यवस्थापनको कार्यमा नगरवासी र व्यवस्थापकीय सहयोगका लागि नगरपालिकाले सकेको सहयोग गर्नुपर्ने कुरामा जोड दिनुभएको थियो ।
समाचार
फोहोरमैला व्यवस्थापन र वातावरण संरक्षणका लागि दमक नगरपालिकाले कडाई गर्ने
- by ज्येष्ठ आवाज
- August 10, 2024
- 0 Comments
- 79 Views
- 6 months ago
