दमक / ज्येष्ठ नागरिक अभियन्ता तथा वयोवृद्ध सामाजिक व्यक्तित्व स्रष्टा विश्वप्रसाद अधिकारीद्वारा लिखित ‘भोजपुरदेखि झापा सम्मको संस्मरण यात्रा’ नामक कृति झापाको दमकमा लोकार्पण गरिएको छ । झापाको गौरीगञ्ज गाउँपालिका-१ महारभारा निवासी अधिकारीको यो पाँचौ कृति हो । आफ्नो व्यक्तिगत, पेशागत जीवनलाई समेट्दै अधिकारीले सामाजिक र शैक्षिक जगतमा गरेको योगदानलाई यो कृतिमा समेटिएको छ ।
प्रकाशित कृतिको शुक्रबार दमक नगरपालिका-५ स्थित दिपीनी आधारभूत विद्यालयका सभाहलमा भएको एक कार्यक्रमकाबीच कोशी प्रदेश सभामा झापा निर्वाचन क्षेत्र नं. ४ (क) बाट निर्वाचित सांसद राधाकृष्ण खनाल, गौरीगञ्ज गाउँपालिका उपाध्यक्ष पुजन न्यौपाने कुँवर, नेपाल रेडक्रस सोसाईटी दमकका अध्यक्ष प्रकाश बुढाथोकी, बालकल्याण माध्यमिक विद्यालयका गौरीगञ्जको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष दिनेश प्रसाद राजवंशी, कृतिकार अधिकारी र उहाँकी जीवनसंगिनी विमला अधिकारीले संयुक्त रुपमा लोकार्पण गर्नुभयो ।
लोकार्पण पछि वक्ताहरुले पुरानो पुस्ताको ज्ञान र अनुभव समेटिएको पुस्तक नयाँ पुस्ताका लागि मार्गदर्शक बन्न सक्ने बताएका थिए । बालकल्याण मा. वि. अन्तर्गत रहने गरी सामाजिक संस्थाका रुपमा स्थापना भएको विश्वप्रसाद अधिकारी प्रतिष्ठानले आयोजना गरेको कृति लोकार्पण कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिको अध्यक्ष दिनेश प्रसाद राजवंशीले गर्नुभएको थियो ।
वि.सं. १९९५ साल साउन ५ गते भोजपुरको हाल अरुण गाउँपालिका वडा नं. ५ याकुकट्टामा जन्मिनुभएका कृतिकार अधिकारीका यसअघि शैक्षिक अवलोकन, एक अध्ययन नामक कथा संग्रह, हिजोदेखि आजसम्मको जीवन यात्रा नामक आत्मकथा, पचास थुँगा फूलको माला नामक कविता संग्रह, चारपोका कोशेली नामक समालोचक कथाका साथै अन्य धेरै फुटकर कविताहरु विभिन्न पत्रपत्रिकाहरुमा प्रकाशन भइसकेका छन् । एस.एल.सी. सम्मको अध्ययन सकेका कृतिकारले जन्मथलो भोजपुरदेखि झापा सम्म बसोबास गर्दा विभिन्न विद्यालय, सामाजिक संघ संस्था स्थापना गर्नुका साथै अक्षयकोष दाताका रुपमा समेत योगदान गरिसक्नुभएको छ ।
वि.सं. २०१५ सालमा एक वर्षसम्म विश्वप्रेमी मिडिल स्कूल याकु भोजपुरमा शिक्षकको रुपमा काम गरेको अधिकारीको अनुभव छ । त्यस्तै २०१६ सालमा पञ्चकन्या प्राथमिक विद्यालय भोजपुर याकुकट्टी र हालको कमल गाउँपालिका-२ साविक तोपगाछीमा पर्ने तत्कालिन कमल प्रा.वि.मा २०१९ देखि २०२३ साल सम्म संस्थापक प्रधानाध्यापकको रुपमा जिम्मेवारी सम्हाल्नुभएको थियो । तोपगाछीकै अर्को विद्यालय महेन्द्ररत्न हाइस्कूलको संस्थापक सदस्य समेत रहनुभएका अधिकारी २०५३ सालमा कनकाई नहर जल उपभोक्ता समितिको सदस्यको भूमिकामा समेत रहनुभएको थियो ।