दमक/ रोटरी क्लब अफ दमकको वर्ष २०२४/०२५ का लागि नवनिर्वाचित कार्यसमितिको पदस्थापन भएको छ । नयाँ कार्यसमितिको अध्यक्ष विक्रम कुमार साह र अन्य पदाधिकारी तथा सदस्यहरुले शपथ ग्रहण गरेपछि पदस्थापन कार्य सम्पन्न भएको हो । अध्यक्ष साहले रोटरीका डिष्ट्रिक गभर्नर राजेन्द्रमान शेरचन र अन्यले अध्यक्ष साहसँग शपथ लिनुभएको हो ।
१३ औं पदस्थापन समारोह दमकको नेपालीरिका होटलमा सम्पन्न भएको हो । त्यस अवसरमा प्रमुख अतिथि रोटरीका डिष्ट्रिक गभर्नर शेरचनले शुभकामना मन्तव्य राख्दै नयाँ कार्यसमितिलाई सफल कार्यकालका लागि बधाई दिनुभयो । शेरचनले रोटरीले पोलियो रोग उन्मूलनका लागि विश्भरिनै काम गर्दै आइरहेको र नेपालमा १० वर्षअघि उन्मूलन भएको पोलियो फेरि देखापर्ने संकेत देखिएकाले त्यसका लागि स्थानीय तहहरुले सजग र सचेत हुनुपर्ने तर्फ सरोकारवालाहरुको ध्यानाकर्षण गराउनुभयो । विशेष अतिथि रहेका दमक नगरपालिकाका प्रमुख राम कुमार थापाले मानव सेवाको क्षेत्रमा काम गर्दै आएको रोटरीले स्थानीय सरकारसँग पनि सहकार्य र समन्वय गरेर काम गरे त्यसका लागि आफूहरु सकेको सहयोग गर्न तयार रहेको बताउनुभयो । अर्का अतिथिद्वय संजय गिरी र सन्तोष रिजालले मानव सेवाको क्षेत्रमा रोटरीले आगामी दिनहरुमा अझ सक्रियताका साथ काम गर्ने प्रष्ट पार्नुभयो ।
कार्यक्रममा नयाँ अध्यक्ष साहले रोटरी क्लब अफ दमकले यसवर्ष गर्ने कामहरुको योजनाका बारेमा जानकारी गराउनुका साथै शिक्षा, स्वास्थ्य, मानव कल्याण, वातावरण संरक्षण, खानेपानी लगायतको क्षेत्रमा १६ लाख ५० हजार बराबरको काम गर्ने लक्ष्य रहेको सुनाउनुभयो । निवर्तमान अध्यक्ष पदम राज बरालले विगतका वर्षहरुमा गरिएका काम र तिनबाट भएको उपलब्धिका बारेमा प्रकाश पार्नुभयो । उनै बरालले स्वागत गरेको कार्यक्रमको संचालन सचिव डा. प्रेम देवकोटाले गर्नुभएको थियो । पदस्थापन समारोहमा छिमेकी जिल्लाका रोटरीयन, विभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधिहरु, उद्योगी व्यापारी, संचारकर्मी लगायतको सहभागिता रहेको थियो ।
पत्रकार पराजुलीलाई पुरस्कार
त्यसक्रममा दमकको उज्यालो खबर अनलाइनका कार्यकारी सम्पादक भूमिराज पराजुलीलाई पत्रकारिताको क्षेत्रमा रहेर पुर्याउनुभएको योगदानको कदर गर्दै पुरस्कृत गरियो । पराजुलीलाई रोटरी क्लब अफ दमकका पूर्वअध्यक्ष दिपु चापागाई सन्दीपले आफ्नी आमा उषा चापागाईको स्मृतिमा स्थापना गर्नुभएको उषा चापागाई फाउण्डेशन रोटरी दमक पत्रकारिता पुरस्कार प्रदान गरिएको हो । पत्रकार पराजुलीलाई नगद र प्रमाण पत्र सहित सो पुरस्कार रोटरीका अध्यक्ष साह, प्रमुख अतिथि शेरचन, दमक नगर प्रमुख थापा, निवर्तमान अध्यक्ष बराल र पूर्वअध्यक्ष चापागाईले हस्तान्तरण गर्नुभएको थियो ।