दमक/ झापाको दमक-७ हाटखोला बस्ने प्रविण कुमार राईले दमक नगरपालिकाले आफ्नो परिवारको नाममा रहेको जग्गामा सार्वजनिक बाटो खोलेको आरोप लगाउनुभएको छ । श्रीमती सुनिता राईको नाममा लालपुर्जा रहेको साविक दमक ६ ख कित्ता नम्वर ३४४६० को दुई कठ्ठा जग्गामा नगरपालिकाले आफूमाथि राजनीतिक पूर्वाग्रह राखी बिहीबार मात्र डोजर लगाएर सार्वजनिक बाटो खोलेको आरोप लगाउनुभएको हो । सो जग्गाका बारेमा प्रविणले दिएको मुद्दा जिल्ला अदालत झापामा विचाराधीन रहेको र यही साउन २१ गतेको तारिख रहेको कुरा उहाँले शनिबार दमकमा पत्रकार सम्मेलन गरी जानकारी गराउनुभएको छ ।
दमक नगरपालिकाले सो जग्गा व्यक्तिगत नभइ सार्वजनिक भइसकेको भन्दै गत बिहीबार नगर प्रहरी र सरकारी सुरक्षाकर्मी लगाएर बाटो खोलेको थियो । जेठ २१ गते नगरपालिकाको न्यायिक समितिले सो जग्गा सार्वजनिक चलनचल्तीको बाटो भएको ठहर गरेपछि जेठ ३० गते सो का विरुद्ध राईले जिल्ला अदालतमा मुद्दा दायर गर्नुभएको हो । न्यायिक समितिको ठहर त्रुटीपूणर् भएको र सो जग्गामा सार्वजनिक बाटो नभएको तर आफू र आफ्नो परिवारको हित नचाहने केही व्यक्तिको उजुरीका आधारमा बाटो रहेको फैसला नगरपालिकाले गरेको राईको दावी रहेको छ ।
यता जग्गाको बारेमा के हो वास्तविकता भनी बुझ्दा दमक नगरपालिका न्यायिक समितिका सदस्य कमल कुमार श्रेष्ठले प्रविण राईका एक जना छिमेकीको घर नक्सा पास गर्दा निजले सो जग्गामा चलनचल्तीको बाटो रहेको कुरामा साक्षीमा हस्ताक्षर गरेको र नगरपालिकाले गरेको ड्रोन म्यापिङमा पनि बाटोनै रहेको देखिएकाले स्थानीय केही व्यक्तिहरुको मागनिवेदनका आधारमा नगरपालिकाले पनि निणर्य गरेको बताउनुभयो । ‘चलनचल्तीको बाटो बाटोकै रुपमा कायम हुने नजिर पनि छ । अहिले पनि जिल्ला अदालतले स्वयंले दिएको अल्पकालिन आदेशलाई बदर गरी पठाएकाले केही दिन अघि बाटो कायम गरिएको उहाँले बताउनुभयो । सो जग्गामा पहिले बाटो भएपनि राईले त्यसलाई जेसीबी लगाएर खेतमा परिणत गरेको तर केही स्थानीयको माग निवेदन र नगरपालिकासँग भएको प्रमाणका आधारमा चलनचल्तीको बाटो रहेको देखिएकाले ग्राभेल बाटोमा रुपान्तरण गरिएको बुझिएको छ । तर यो विवाद र मुद्दा जिल्ला अदालत झापाबाट अन्तिम किनारा नलाग्दासम्म जग्गा व्यक्तिगत कायम हुने हो या सार्वजनिक अथवा भनौं चलनचल्तीको बाटो के हो भनेर यसै भन्न सकिने अवस्था रहेन । तर मुद्दाको फैसलाबाट राईले न्याय पाउने हुन् कि नगरपालिकाको जीत हुने हो, त्यो पनि समयले देखाउलानै, भनेर दमकबासीहरुबीच चर्चा हुन थालेको छ । विवादित जग्गाका बारेमा मालपोत कार्यालयले दिएको लालपुर्जा, त्यसमा रहेको जग्गाको क्षेत्रफल र नापी कार्यालयको नक्सालाई पनि आधारका रुपमा लिँदा त्यसबाट पनि दूधको दूध पानीको पानी छुट्टिने कुरामा दुई मत नहुने जानकारहरु बताउँछन् ।
समाचार
राई परिवारले दावी गरेको जग्गा चलनचल्तीको बाटो कि व्यक्तिगत ?
- by ज्येष्ठ आवाज
- August 3, 2024
- 0 Comments
- 77 Views
- 7 months ago
