समाचार

दमक–७ मा बालमैत्री अभिमुखीकरण र वडा बाल सञ्जाल पुनर्गठन

दमक/ झापाको दमक–७ मा वडास्तरीय बालमैत्री अभिमुखीकरण कार्यक्रम गरिनुका साथै वडा बाल सञ्जाल पुनर्गठन गरिएको छ । वडा कार्यालयको सभाहलमा मंगलबार भएको बालबालिकाहरुको स्थानीय सुशासनयुक्त अभिमुखीकरण कार्यक्रमका लागि भएको भेलाबाट अपेक्षा लुइँटेलको अध्यक्षतामा १५ सदस्यीय वडा बाल सञ्जाल गठन गरिएको हो । सो वडा बाल सञ्जालको उपाध्यक्षमा आइरन तामाङ, सचिवमा मनिक सिटौला, सह–सचिवमा आरती चौधरी र कोषाध्यक्षमा रीप्सन वेघालाई जिम्मेवारी दिइएको छ ।

वडाध्यक्ष भिमप्रसाद पौडेलको प्रमुख आतिथ्यतामा भएको वडा बाल भेलामा वडा सदस्य तथा बालमैत्री वडा फोकल पर्सन अतित बान्तवा राईले स्वागत मन्तव्य राख्नुभएको थियो भने भने नगरपालिका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाकी महिला विकास निरीक्षक जमुना पौडेलले भेलामा पालैपालो सहजीकरण तथा दमक नगर बाल सञ्जालकी अध्यक्ष आकृति बस्नेत र सचिव लेलिना गौतमले थप सहजीकरण गर्नुभएको थियो । बालबालिकाको हक, अधिकार प्राप्ती, संरक्षण, कल्याण र बालमैत्री स्थानीय सुशासन बारे ऐन, नियम कार्यान्वयन साथै व्यवहारका लागि बाल सञ्जाल गठनले मद्दत मिल्ने कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष पौडेलले बताउनुभयो । अभिमुखीकरण कार्यक्रममा वडामा रहेका सामुदायिक तथा संस्थागत गरी ४ वटा माध्यमिक विद्यालयका बाल क्लबका विद्यार्थी बालबालिकाहरुको प्रतिनिधिमूलक सहभागिता थियो । कार्यक्रमको अध्यक्षता वडा सदस्य तथा बालमैत्री फोकल पर्सन अतित वान्तवा राई र संचालन वडा सचिव योगेश भट्टराईले गर्नुभएको थियो । नगरपालिकामा वडा नं. ३ बाहेक सबै वडामा वडा बाल सञ्जाल गठन भइसकेको र चाँडैनै वडा बाल सञ्जालबाट ३÷३ जना प्रतिनिधिको भेला गराएर नगर बाल सञ्जाल पुनर्गठन गरिने पनि बालबालिका शाखाले जनाएको छ । वडा बाल भेलामा सो वडाका ४ वटा माध्यमिक विद्यालयहरु सामुदायिक पृथ्वी मा.वि. तथा संस्थागत विद्यालयहरु सिद्धार्थ अंग्रेजी बोर्डिङ स्कूल, ईष्टर्न स्टार अंग्रेजी स्कूल र हलेसी लिटल एन्जल्स बोर्डिङ स्कूलका विद्यार्थीहरु गरी २५ जनाको सहभागिता रहेको थियो । दमकमा वडा नम्वर ५ स्थानीय सुशासनयुक्त बालमैत्री वडा घोषणा भइसकेको छ भने बाँकी वडाहरुलाई बालमैत्री घोषणा गर्नका लागि तिब्र तयारी भइरहेको नगरपालिकाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *