कमल/ झापाको कमल–५ स्थित संझौता वचत तथा ऋण सहकारी संस्थाको चौथो अधिवेशनबाट बासुदेव चापागाईको अध्यक्षतामा नयाँ संचालक समिति चयन भएको छ । समितिको उपाध्यक्षमा किरण रेग्मी, सचिवमा भक्तिप्रसाद नेपाल र कोषाध्यक्षमा मुना बराल रहेका छन् ।
निर्वाचन कार्यतालिका बमोजिम आह्वान गरेपछि परेका नामहरुमा सहमति हुँदा नयाँ संचालक समिति सर्वसम्मत रुपमा चयन हुन पुगेको छ । संचालक सदस्यहरुमा क्रमशः प्रेमबहादुर कार्की, बलबहादुर रसाइली र गोमादेवी लम्साल रहेको व्यवस्थापक दुर्गाप्रसाद गौतमले जानकारी गराए ।

त्यसैगरी लेखा सुपरिवेक्षण समितिमा भने संयोजकमा सुरेन्द्र देवान साथै सदस्यहरुमा इन्द्रप्रसाद दहाल र निरुता तिवारी चुनिएका छन् । नवनिर्वाचित संचालक समितिलाई बिहीबार स्थानीय गुरागाई प्रतिष्ठानमा भएको ११ औं वार्षिक साधारण सभामा बधाई दिँदै अविर टीका लगाएर कार्यकालको सफलताको शुभकामना व्यक्त गरियो । सहकारी समन्वय समिति कमलका ज्येष्ठ सदस्य ललितकुमार बान्तवाको प्रमुख आतिथ्यतामा सम्पन्न साधारण सभामा बान्तवा सहित अतिथिहरु सहकारी अभियन्ता चूडामणि ओझा र सो सहकारीका संस्थापक अध्यक्ष खगेन्द्र तिवारीले शुभकामना मन्तव्य राखेका थिए । अन्य अतिथिहरुमा इन्द्रेणी बहुउद्देश्यी सहकारीका अध्यक्ष कपिलप्रसाद आचार्य र पत्रकार पंकज दाहाल रहेका थिए ।

साधारण सभामा अध्यक्ष बासुदेव चापागाईको वार्षिक प्रतिवेदन र लेखा सुपरिवेक्षण समिति संयोजक सुरेन्द्र देवानको लेखा प्रतिवेदन प्रस्तुतिपछि आवश्यक छलफल गरी सुझावसहित पारित गरिएको थियो । स्वागत मन्तव्य निवर्तमान अध्यक्ष द्रोण बहादुर दनुवार र कार्यक्रम संचालन सचिव भक्तिप्रसाद नेपाल साथै व्यवस्थापक दुर्गाप्रसाद गौतमले आलोपालो गरी गरेका थिए । कार्यक्रममा सहकारीमा वर्षभरि उत्कृष्ट कारोबार गर्ने वचत तर्फ ५ जना, कर्जा तर्फ ५ जना, बाल वचत तर्फ २ जना, ज्येष्ठ वचत तर्फ २ जना र एसईई परीक्षामा उत्कृष्ट अंक ल्याउने निजी तथा सामुदायिक विद्यालय तर्फ १/१ जनालाई पुरस्कृत तथा सम्मानित गरिएको थियो । ५७६ जना शेयर सदस्य रहेको सो सहकारीको गत आर्थिक वर्षसम्मको शेयर पुँजी ५४ लाख ५ हजार ९ सय, कर्जा लगानी ३ करोड २३ लाख ४ हजार ९५६, निक्षेप ३ करोड २३ लाख ७७ हजार ३३ र कोष हिसाब ८५ लाख ४२ हजार ३७१ रुपैयाँ रहेको अध्यक्ष चापागाईको प्रतिवेदनमा उल्लेख छ ।

