कमल/ झापाको कमल गाउँपालिका मातहतको कमल नगर अस्पतालमा अब हप्ताको दुई दिन विशेषज्ञ रेडियोलोजिष्टबाट भिडियो एक्स–रे (यूएसजी) सेवा सञ्चालन हुने भएको छ । सेवा सञ्चालनका लागि बुधबार आम्दा मेची अस्पतालका रेडियोलोजिष्ट डा. देवकृष्ण यादवसँग सम्झौता पनि गरिएको छ । यो सेवा यही साउन २५ गते सोमबार देखि औपचारिक रुपमा शुरु गरिने भएको छ ।
कमल गाउँपालिका अध्यक्ष तथा कमल नगर अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष हुकुम सिंह राईको पहलमा भएको सम्झौताअनुसार अस्पतालमा हरेक सोमबार र बिहीबार भिडियो एक्स–रे सेवा उपलब्ध हुनेछ ।
विशेषज्ञ रेडियोलोजिष्टबाट नियमित सेवा उपलब्ध भएपछि गर्भवती महिला तथा अन्य बिरामीलाई भिडियो एक्स–रे का लागि अन्यत्र जानुपर्ने बाध्यता कम हुनुका साथै स्थानीयस्तरमै गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने अवसर मिल्ने भएको छ । आज बुधबार भएको सम्झौता कार्यक्रममा कमल गाउँपालिका अध्यक्ष हुकुम सिंह राई, रेडियोलोजिष्ट डा. देवकृष्ण यादव, प्रमुख प्रशासकीय अधिकृत केशवकुमार ढकाल, स्वास्थ्य शाखा प्रमुख दीपकप्रसाद दाहाल, कमल नगर अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. फुलकचन्द्र लावती तथा अस्पताल प्रमुख कुशल श्रेष्ठको सहभागिता रहेको थियो ।

