समाचार

झापाको कमल–५ मा विपद् व्यवस्थापन सम्बन्धी वडा स्तरीय कार्यशाला

कमल/झापाको कमल गाउँपालिका वडा नम्वर ५ मा वडास्तरीय विपद् सम्बन्धी कार्यशाला आयोजना गरिएको छ । कार्याशालामा प्राकृतिक तथा मानव सिर्जित विपदको अवस्था पहिचान, विवरण संकलन र जोखिम न्यूनीकरणका लागि भावी योजना तय गर्ने बारेमा विस्तृत छलफल गरियो । कार्यवाहक वडाध्यक्ष चुरुङहाङ लावतीको अध्यक्षतामा भएको आम भेलामा स्थानीय टोल विकास संस्थाका प्रतिनिधि, सामुदायिक विद्याललयका प्रधानाध्यापक, सशस्त्र प्रहरी बलका प्रतिनिधि, स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयंसेविका, ज्येष्ठ नागरिक, बाल क्लबका प्रतिनिधि, स्थानीय सामाजिक संघ संस्थाका प्रतिनिधि तथा कर्मचारीहरुको सहभागिता रहेको थियो ।

भेलामा वडा सदस्यहरु ओम कुमार प्रधान र चन्द्रकला सुब्बाको आतिथ्यताका साथै विपद् विज्ञ रामकुमार दाहालले सहजीकरण गरेका थिए । कार्यक्रममा सहभागीहरुको विभिन्न समूह बनाई आगलागी, भूकम्प, हात्ती आतंक, सडक दुर्घटना, सर्पदंश, बाढी कटान, डुबान, हावाहुरी, पशुबाली रोग, महाकारी, विद्युत दुर्घटना, चट्याङ तथा खडेरीबाट हुने क्षति र तिनको जोखिम न्यूनीकरणका बारेमा छलफल गरिएको थियो । विपद्को अवस्था पछि उत्पन्न हुने परिस्थिति र पीडितले राज्यबाट पाउने राहत सुविधाका बारेमा पनि सहजकर्ता दाहालले जानकारी गराएका थिए । त्यस अवसरमा जलवायु परिवर्तनबाट परेको असर र तिनको समस्याका बारेमा पनि चर्चा गरिएको थियो ।

विपदको जोखिम न्यूनीकरण, पूर्वतयारी र प्रतिकार्य तथा आम भेलाबाट प्राप्त सूचनाहरुलाई समेटेर गाउँपालिका स्तरीय एकीकृत योजना तर्जुमा गर्ने र यही मंसिरभित्र प्रतिवेदन तयार गरेर पालिकामा बुझाउने जानकारी पनि त्यस अवसरमा दिइएको कमल–५ का वडा सचिव अमृत कुमार साहले जानकारी गराए । यस्तो आमभेला सोमबारनै कमलको वडा नं. ६ र ७ मा पनि गरिएको थियो । आज मंगलबार सबै वडाहरुमा यस्तो आमभेला गरिसक्ने कार्यक्रम रहेको छ। भेलाबाट कमल–५ का वडाध्यक्ष लाल बहादुर (एल.बी.) विष्टको संयोजकत्वमा २० सदस्यीय वडा स्तरीय विपद व्यवस्थापन समिति पनि गठन गरिएको छ । कार्यक्रममा वडा सदस्य ओम कुमार प्रधानले स्वागत मन्तव्य राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *