कमल (केर्खा)/ झापाको कमल गाउँपालिका–३ केर्खास्थित किरात तियेलुङ चोलुङ माङहिम समितिले किरातहरुको साझा मन्दिर अर्थात्.माङहिम परिसरमा महागुरु फाल्गुनन्द लिङदेनको ९ फुट अग्लो पूर्ण कदको सालिक निर्माण गरी अनावरणको तयारी गरेको छ । सो मन्दिर अर्थात् माङहिम गजुर सहितको ९ तले रहेको, त्यही हातामा पुजारीको आवास र यज्ञ कुण्ड रहेको रमणीय स्थल बनेको छ । जिल्लाभरिका किरात धर्मावलम्बीहरुको प्रयास, दान, सहयोग र कमल गाउँपालिका समेतको सहयोगमा माङमिङ तथा सो परिसरमा समाज सुधारक तथा राष्ट्रिय विभूति फाल्गुनन्दको सालिक बनाउन सो समिति सफल बनेको कुरा माङहिम समिति अध्यक्ष सूर्यप्रसाद लिम्बू येक्पाङदेनले जानकारी गराएका छन् ।
फाल्गुनन्दको सोही सालिकको अनावरण र उद्घाटन यही कार्तिक २५ गते १४१ औं फाल्गुनन्द जन्म जयन्तीका दिन भव्यतापूर्वक गरिन लागेको आयोजक किरात तियेलुङ चोलुङ माङहिम समितिका सचिव तथा अधिवक्ता नर बहादुर लिङदेनले बताए । आइतबार माङहिम परिसरमा आयोजना गरिएको पत्रकार सम्मेलनमा समितिको अध्यक्ष लिम्बूले माङहिममा रहेका संरचनाहरु निर्माणका लागि करिव १ करोड खर्च भएको पनि जानकारी गराए । उनले त्यहाँ बनाइएको फाल्गुनन्दको सालिक नेपालकै सबैभन्दा अग्लो भएको पनि बताए ।
सो सालिकको अनावरण कार्यक्रममा फाल्गुनन्दका अनुयायी धर्मगुरु आत्मानन्द लिङदेन र आमा पवित्राहाङमा लिङदेनको बाहुलीबाट गरिने भएको छ । समितिले किरात धर्ममा विश्व शान्ति, मानव एकता र धार्मिक सहिष्णुतालाई मूल मन्त्र मानिएको भन्दै कार्यक्रममा सबै धर्मावलम्वीहरुलाई सहभागिता र उपस्थितिका लागि अनुरोध गरेको छ । मद्यपान, हिंसा र काटमार तथा खराब आचरणहरुलाई त्यागेर किरात समुदायलाई सही र सत्मार्गमा हिंडाउन प्रेरित गर्ने महागुरु फाल्गुनन्द सबै नेपालीहरुका साझा आदर्श पात्र रहेको भन्दै कमलमा उनको पूर्ण कदको सालिक बनाइ सम्झना गर्नु गर्वको कुरा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले बताएका थिए ।

माङहिम समिति वि.सं. २०७२ साल फागुन २६ गते गठन भई त्यसको भोलीपल्ट २७ गते माङहिम निर्माणका लागि शिलान्यास गरिएको इतिहास छ । माङहिमका लागि स्थानीय दल बहादुर मेङयान्बोले ३ कठ्ठा ऐलानी जग्गा दान गरेको र बाँकी १ कठठा जग्गा खोला धारको जग्गालाई कोशी प्रदेश सरकारको सहयोगमा तटबन्धन गरी उपयोग गरिएको बताइएको छ । ऐलानी जग्गा भने माङहिमको नाममा जग्गा धनीपुर्जा कायम गर्ने प्रकृया पनि चलिरहेको त्यस अवसरमा जानकारी गराइयो । अध्यक्ष लिम्बूले पत्रकारहरुले सोधेको विभिन्न प्रश्नहरुको जवाफ दिएका थिए ।
कार्यक्रममा माङहिम समितिका कोषाध्यक्ष लाख बहादुर मावो, सदस्यहरु धन बहादुर मावो, विष्णुमाया वेघा लिम्बू, अमर हाङ मावो लगायतको आतिथ्यता रहेको थियो भने कोषाध्यक्ष लाख बहादुर र सदस्य विष्णुमायाले आ–आफ्ना भनाइहरु राखेका थिए । त्यस्तै पत्रकार सम्मेलनमा किरात धर्म तथा साहित्य उत्थान संघका झापा जिल्ला अध्यक्ष लक्ष्मी प्रसाद योङहाङले पनि फाल्गुनन्दले देखाएको बाटो अहिंसा, धर्म र सत्यको भएको बताउँदै यसमा मार्गको अनुसरण गर्ने किरातहरु सुधारिएर गएको प्रष्ट पारे । कार्यक्रममा अधिकांश पत्रकारहरु दमक र शिवसताक्षीबाट सहभागी हुन पुगेका थिए ।


