दमक/ झापाको दमकमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७ औं जन्मजयन्ती एक साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइएको छ । साहित्य कला संगम दमक र प्रतिभा निकेतनको संयुक्त आयोजनामा मंगलबार साहित्यिक रचना वाचन गरी देवकोटाको जन्मजयन्ती मनाइएको हो ।
दमकको देवकोटा चौकमा रहेको देवकोटाको सालिकमा माल्यार्पण गरेर कार्यक्रम शुरु भएको थियो । अग्रज साहित्यकार तथा कवि डा. तुलसी भट्टराईको प्रमुख आतिथ्यता र दमक–६ का वडाध्यक्ष टेकबहादुर थापाको विशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा दमक प्रज्ञा प्रतिष्ठानका पूर्व अध्यक्ष हेमनाथ अधिकारी, साहित्य कला संगमका अध्यक्ष विन्दु दाहाल मूकदर्शक, प्रतिभा निकेतनका अध्यक्ष कमल प्रसाद भट्टराई र प्रतिभा निकेतनका पूर्व अध्यक्ष मेघराज तिम्सिनाले पनि देवकोटाको सालिकमा माल्यार्पण गरेका थिए ।

कार्यक्रममा दर्जन बढी स्रष्टाहरुले रचना वाचन गरेका थिए । यसरी रचना वाचन गर्नेहरुमा कविहरु क्रमशः विन्दु दाहाल मूकदर्शक, विष्णु न्यौपाने, यादव प्रसाद अधिकारी झाक्रिखोले, दुर्गा खनाल काफ्ले, चन्द्रा गड्तौला, ओम प्रसाद खनाल, मेघनाथ बन्धु र विवेक दुलाल क्षेत्री रहेका छन् । त्यस्तै साहित्यकारहरु रघुनाथ भण्डारी, नारायण प्रसाद शर्मा, बाला भट्टराई लगायत रहेका थिए । कार्यक्रमको अध्यक्षता आयोजक संस्था साहित्य कला संगमका अध्यक्ष विन्दु दाहाल मूकदर्शक र प्रतिभा निकेतनका अध्यक्ष कमल राज भट्टराईले संयुक्त रुपमा गरेका थिए । कार्यक्रम संचालन साहित्य कला संगम दमकका महासचिव ओम प्रसाद खनालले गरेका थिए ।

