कमल/ झापाको कमलमा ज्येष्ठ नागरिक स्याहार सम्बन्धी तालिम साथै सीप हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । ज्येष्ठ नागरिकहरुलाई जागरण, संगठित र सचेतना गराउने उद्देश्यले अन्तरक्रियात्मक रुपमा यस्तो कार्यक्रमको आयोजना गरिएको हो । ज्येष्ठ नागरिकहरुको हक, हित र अधिकार प्राप्तीमा थोरै भएपनि बल पुगोस् र स्थानीय सरकारले उनीहरुको संरक्षण, सम्मान र मर्यादापूर्ण जीवन यापनका लागि सघाउ पुर्याउन सकोस् भनेर एक/एक दिन गरी आयोजना गरिएको कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको प्रतिक्रिया दिइएको छ ।
तालिम कार्यक्रम कमल गाउँपालिकाको आयोजनामा बिहीबार गाउँपालिका कार्यालयको सभाहल क्याम्पामा वडा नं. १, २, ३ र ४ का ज्येष्ठ नागरिक र शुक्रबार वडा नं. ६ को कार्यालय लखनपुरमा वडा नं. ५, ६ र ७ का ज्येष्ठ नागरिक र युवा पुस्ताका लागि आयोजना गरिएको थियो । दुवै दिनको तालिममा राष्ट्रिय ज्येष्ठ नागरिक महासंघ नेपालका केन्द्रीय सदस्य तथा पत्रकार पंकज दाहालले सहजीकरण गरेका थिए । ज्येष्ठ नागरिक स्याहारकर्ता प्रशिक्षक दाहालले ‘ज्येष्ठ नागरिकको अधिकार, कानुन र स्याहार’ तथा ‘अन्तर पुस्ता सीप हस्तान्तरण’ विषयक दुई कार्यपत्र तयार गरी प्रस्तुति दिएका थिए । शुक्रबारको कार्यक्रम उद्घाटन गरेकी कमल गाउँपालिका उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीले ज्येष्ठ नागरिकको उचित स्याहारको सन्दर्भमा पालन पोषण, हेरचाह, खानपानमा विशेष ध्यान दिनुपर्ने बताउँदै सकेसम्म सक्रिय बुढ्यौलीको जीवन यापन गर्न सहभागी सबैलाई आग्रह गरिन् ।

उपाध्यक्ष न्यौपानेले ज्येष्ठ नागरिकहरुमाथि हुने दुर्व्यहार, अपहेलना र हेलाहोचोमा उजुरी दिन सक्ने व्यवस्था भएको र त्यसमा न्याय दिने पहिलो ठाउँ साथै अधिकार स्थानीय तहको न्यायिक समितिलाई रहेको बताइन् । यदि त्यस्तो भएको खण्डमा कसूर गर्ने व्यक्तिलाई स्थानीय तहबाट दण्ड सजायको कारवाही र वडाबाट आवश्यक सिफारिस रोक्ने सम्मको व्यवस्था रहेको उनले जानकारी गराइन् । कार्यक्रममा बोल्दै गाउँपालिका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख रिता कार्कीले कमलमा स्थानीय ज्येष्ठ नागरिक समिति गठनका लागि आवश्यक तयारी भइरहेको बताइन् ।
शाखा प्रमुख कार्कीले वडा वडामा ज्येष्ठ नागरिकहरुले संगठित भएर आवाज उठाए र सामूहिक प्रयत्न गरे सरकारले अहिले दिइरहेको बजेट कार्यान्वयन र कार्यक्रमहरु सम्पन्न गर्न मद्दत पुग्ने धारणा राखिन । शुक्रबारको कार्यक्रमको अध्यक्षता र समापन कमल–६ का वडाध्यक्ष नरेन्द्र भट्टराईले गरेका थिए ।


