कमल/ झापाको कमल गाउँपालिकाका सबै वडाहरुमा सञ्चालन भइरहेको समुदायमा आधारित मधुमेह तथा उच्च रक्तचाप व्यवस्थापन कार्यक्रम प्रभावकारी बन्दै गएको छ । नसर्ने रोग भनेर चिनिने मधुमेह र उच्च रक्तचापका बिरामीहरु बढिरहेका बेला यसको उचित व्यवस्थापनका लागि समुदायमै पुगेर सेवा गर्दा सम्बन्धित व्यक्तिहरु लाभान्वित भइरहेका छन् ।
कमल गाउँपालिकाका सबै वडाहरुमा यस्तो कार्यक्रम संचालन भइरहेको छ । ति सबै वडामा स्थानीय स्वास्थ्य स्वयंसेविकाहरुलाई तालिम दिएर समुदायमा परिचालन गरिएको जानकारी गराइएको छ । उनीहरुका साथमा मधुमेह (सुगर) जाँच मेशिन र उच्च रक्तचाप (प्रेसर) नाप्ने सामग्री पनि रहेको छ । उता वडा नं. २ मा भने राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविकाहरु चन्द्रकला ढकाल र उषा गौतम दाहालले घरदैलोमै पुगेर सम्बन्धित बिरामीहरुको स्वास्थ्योपचारमा सघाउ पुर्याइरहेका छन् । यसबाट मधुमेह र उच्च रक्तचापका बिरामीहरु समेत हर्षित भएको प्रतिक्रिया पाइएको छ ।
त्यसक्रममा स्वास्थ्य स्वयंसेविकाहरुले बिरामीहरुले नियमित औषधी सेवा गरे नगरेको, खानपान तथा जीवनशैली सम्बन्धी परामर्श प्रदान गरिरहेको कमल नगर अस्पतालका प्रमुख तथा जनस्वास्थ्य निरीक्षक दिपक दाहालले जानकारी गराएका छन् । यस्तो कार्यक्रमबाट समुदायस्तरमै रोगको पहिचान र व्यवस्थापन गर्न सघाउ पुगिरहेको छ । कमलमा मात्र होइन, मधुमेह र उच्च रक्तचापका बिरामीहरु देशका विभिन्न भागहरुमा बढिरहेका बेला यस्तो सेवा अन्यत्र पनि विस्तार गर्नु आवश्यक हुने देखिएको छ ।

