कमल/ कृषि तथा पशुपालनको पेशालाई सहज र उन्नत बनाउन आवश्यक अनुदान, सहुलियत तथा सुविधा प्रदान गर्न भन्दै अखिल नेपाल किसान महासंघ कमलले झापाको कमल गाउँपालिका समक्ष विभिन्न मागहरु गरेको छ । महासंघ कमलका अध्यक्ष डम्बरबहादुर निरौलाको नेतृत्वको टोलीले गाउँपालिका अध्यक्ष हुकुमसिंह राईलाई पालिका कार्यालयमै पुगेर यस्तो माग गरेको हो । मंगलबार अध्यक्ष राईसंगको भेटमा किसान महासंघले पालिकाभरिका किसान तथा पशुपालक किसानहरुको तर्फबाट विभिन्न माग प्रस्तुत गरेको हो ।
महासंघले किसानहरुलाई समयमै रासायनिक मल उपलब्ध गराउन पहल गरिनुपर्ने, उन्नत जातको धानको बीउमा ५० प्रतिशत छुटको व्यवस्था गरिनुपर्ने, खाद्यबाली तथा बैमौसमी तरकारी खेतीका लागि बाली बिमाको व्यवस्था गरिनुपर्ने, सिंचाईको बिलको सबै महशुल शतप्रतिशत तिर्ने व्यवस्था गर्नुपर्ने, कृषि उपजको बजारको ग्यारेन्टी गरिनुपर्ने, रासायनिक मलको ठाउँमा प्राङ्गारिक तथा जैविक मलको व्यवस्था गरिनुपर्ने, टनेल र स्प्रे ट्याङ्की शतप्रतिशत अनुदानमा वितरण गरिनुपर्ने, लसुन, मेथी र धनियाजस्ता मसलाजन्य बालीमा ५० प्रतिशत अनुदान दिनुपर्ने र शितभण्डारका लागि बजेटको व्यवस्था गरिनुपर्ने माग अघि सारेको छ ।

त्यसैगरी पशुतर्फ पशु बिमा पूर्ण निःशुल्क गर्नुपर्ने, उन्नत नश्लको सिमेनको इआई निःशुल्क गर्नुपर्ने, लोकल, लेयर्स र ब्रोइलर कुखुराको बिमा निःशुल्क गर्नुपर्ने, अण्डा र मासुको बजारको ग्यारेन्टी गर्नुपर्ने, सानो ह्याचिङ मेशिन निःशुल्क उपलब्ध गराउनुपर्ने, पशुमा लाग्ने खोरेत चरचरे र भ्यागुत्ते रोगको खोप निःशुल्क गर्नुपर्ने, कम लागतमा पोषिलो घाँसको बिउ उपलब्ध गराउनुपर्ने, मौरीको घार र प्राविधिक ज्ञान निःशुल्क गरी बजार व्यवस्थापन गर्नुपर्ने, ५० प्रतिशत अनुदानमा माछाका भुरा उपलब्ध गराउनुपर्ने, सार्वजनिक नदीखोलाहरुमा विषादी प्रयोग गरेर माछा मार्ने काम बन्द गरिनुपर्ने, भुस्याहा कुकुरको वर्षेनी बन्ध्याकरण गरिनुपर्ने र रेबिजविरुद्धको खोप लगाउनुपर्ने, पशुमा लाग्ने लम्पी स्किनको निःशुल्क औषधी समयमै गर्नुपर्ने र उन्नत जातका बाछाबाछी, पाठापाठी र बंगुरसमेतको बिऊ सहजरुपमा वितरण गरिनुपर्ने लगायतका मागहरु त्यस अवसरमा अध्यक्ष राई समक्ष पेश गरिएको किसान महासंघ कमलका अध्यक्ष निरौ्रलाले जानकारी गराए । आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति, कार्यक्रम र बजेट निर्माण भइरहेका बेला कमलका किसानहरुले किसान महासंघको अगुवाईमा यस्तो माग गरेका हुन् । अध्यक्ष निरौलाले आगामी बजेटमा कमलका किसान तथा पशुपालक किसानहरुलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्न र सोही अनुसारको कार्यक्रम ल्याउन पनि त्यसअवसरमा माग गरे ।
कमलका अध्यक्ष राईको कार्यकक्षमा भएको सो भेटमा प्रमुख प्रशासकीय अधिकृत केशवकुमार ढकाललगायत पालिकाका उच्च पदस्थ कर्मचारीहरुको पनि उपस्थिति रहेको थियो । मागहरुका बारेमा सुनिसकेपछि अध्यक्ष राईले नेपाल कृषिप्रधान देश भएकाले कमल गाउँपालिकामा पनि सो क्षेत्रलाई उत्तिकै महत्व दिइँदै आएको र आगामी दिनमा पनि त्यो परम्परामा कमी आउन नदिने साथै सकेसम्म आगामी बजेटमा पूरा हुनसक्ने कुराहरुलाई समेटिने वचन दिएको जानकारीमा आएको छ । त्यस अवसरमा किसान महासंघ झापाका सचिव छवि गुरागाई लगायत स्थानीय पालिकाका किसान नेताहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
