समाचार

झापा मोडलमा विद्यार्थीहरुले गरे संयुक्त राष्ट्रसंघको नमुना अभ्यास

दमक/ झापाको दमकमा भेला भएर संयुक्त राष्ट्रसंघको महासभा, बैठक र निर्णयका प्रकृयाहरुका बारेमा सामुदायिक तथा निजी विद्यालयका विद्यार्थीहरुले नमुना अभ्यास गरेका छन् । दमक–८ स्थित झापा मोडल अंग्रेजी माध्यमिक विद्यालयले कक्षा ६ देखि १२ सम्मका छानिएका विद्यार्थीहरुलाई विद्यालयमा भेला पारेर यस्तो अभ्यास गरएको छ । बुधबारदेखि शुरु भएको यो नमुना अभ्यासको कार्यक्रम आज शुक्रबार मात्र समापन हुने बताइएको छ ।
संयुक्त राष्ट्रसंघका बारेमा विद्यार्थीहरुलाई अभ्यास गराइएको यो झापामै पहिलो कार्यक्रम हो । यसअघि सो विद्यालयले नेपालको संसदीय बैठक र निर्वाचन प्रणालीका बारेमा अलग अलग अभ्यास गराएको थियो । अहिले भने विद्यालयमा हुने अतिरिक्त क्रियाकलापको परम्परागत शैली र विषयभन्दा भिन्न रहेर अन्तर्राष्ट्रिय स्तरको अभ्यासका बारेमा जानकारी होस् भन्ने हेतुले संयुक्त राष्ट्रसंघका विषयमा विद्यार्थीहरुलाई तीनदिने अभ्यास गराइएको झापा मोडल अंग्रेजी मा.वि. का संस्थापक निर्देशक जय बहादुर श्रेष्ठले जानकारी गराए । यसमा दमक नगरपालिकाको समन्वय र सहकार्य रहेको साथै दमक र आसपासका क्षेत्रका सामुदायिक र निजी गरी १४ वटा विद्यालयका छनौट भएका विद्यार्थीहरुले सहभागी रहेका छन् ।
अभ्यासका क्रममा पहिलेनै जानकार रहेका काठमाडौंका रातो बंग्ला र सेन्ट जेभियर स्कूलका कक्षा १२ को पढाइ सम्पन्न गरेका विद्यार्थीहरुको टोली पनि सामेल भइरहेको छ । यसक्रममा विद्यार्थीहरुले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्, वातावरण र महिला विभागले गर्ने बैठक, छलफल, वादविवाद, निर्णय, निर्णयको प्रकृया तथा घोषणा कसरी अघि बढ्छन् भन्ने कुरा नमुना अभ्यास गरेर अनुभव बटुलेका छन् । जसमा उनीहरुले गाजा क्षेत्रको विवाद, द्वन्द्वग्रस्त क्षेत्रमा महिलाहरुमाथिको हिंसा, वन्यजन्तु संरक्षण र चोरी निकासी लगायतको विषयमा छलफल गरेर अभ्यास गरिरहेका छन् । झापा मोडेल स्कूलमा उनीहरुले तीन वटा छुट्टा छुट्टै कक्षामा यस्तो अभ्यास गरेको र हरेक बैठक तथा निर्णयपछि गरिने आपसमा विद्यार्थीहरुलाई नै पत्रकार बनाएर पत्रकार सम्मेलन समेत गरेको विद्यालयका संयोजक रहेकी जस्मिन कारञ्जितले बताइन् ।
विद्यार्थीहरुमा रहेको क्षमत विकास गर्ने र ज्ञान बढाउन अतिरिक्त क्रियाकलापको नयाँ विधा र तरीकाका रुपमा यस्तो कार्यक्रम गरिएको झापा मोडल स्कूलका प्रिन्सिपल सागर श्रेष्ठले बिहीबार दमकका पत्रकारहरुलाई बोलाएर व्रिफिङ गरे । नमुना अभ्यासका क्रममा ३/४ सयको संख्यामा विद्यार्थीहरुको सहभागिता रहेको पाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *