दमक/झापाको दमक–५ स्थित ज्येष्ठ नागरिक सामुदायिक सिकाइ केन्द्रले नगरका विभिन्न सामुदायिक विद्यालयमा अध्ययन गर्ने गरीब तथा विपन्न विद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहयोग गरेको छ । केन्द्रको १० औं वार्षिक साधारण सभा तथा ११ औं स्थापना दिवसका अवसरमा आइतबार यस्तो सहयोग गरिएको हो । सो सहयोग केन्द्रले पर्शुराम रेणुका शैक्षिक कल्याण कोषबाट प्रदान गरिने छात्रवृत्ति कार्यक्रम अन्तर्गत गरेको हो ।
छात्रवृत्ति कार्यक्रम अन्तर्गत वितरण गरिएको शैक्षिक सामगी्रमा १९ जना विद्यार्थीलाई जनही एक थान किताब बोक्ने व्याग, एक दर्जन कापी, एउटा ज्यामिती बक्स र १ प्याकेट डटपेन रहेको छ । ति सामग्री कार्यक्रमका प्रमुख अतिथि दमक नगरपालिका शिक्षा समितिका संयोजक तथा वडा नं. ९ का वडाध्यक्ष कुवेर प्रसाद भट्टराईले सम्बन्धित विद्यार्थीहरुलाई हस्तान्तरण गरे । शैक्षिक सामग्री प्राप्त गर्नेमा दमकका ९ वटा सामुदायिक विद्यालयबाट छानिएका विपन्न विद्यार्थीहरु रहेका छन् ।
छात्रवृत्ति दिएपछि प्रमुख अतिथिको रुपमा शुभकामना मन्तव्य राख्दै वडाध्यक्ष भट्टराईले केन्द्रले गरेको सानो सहयोगले विपन्न विद्यार्थीको अध्ययन अध्यापनका निम्ति महत्वपूर्ण टेवा पुग्न सक्ने बताए । कार्यक्रममा दमक नगर कार्यपालिका सदस्य ख्याम कुमारी परियार, दमक–५ की वडा सदस्य शोभा खतिवडा बेलवासे, चुलाचुली माध्यमिक विद्यालयका प्रधानाध्यापक खुरहरि आचार्य, केन्द्रका सल्लाहकार नरेन्द्र दाहाल र शान्ति सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष राजु तामाङले विपन्न विद्यार्थीहरुको हितमा केन्द्रले गरेको कार्यको प्रशंसा गर्दै सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई यस्ता सहयोगहरु गर्दै जानुपर्ने आवश्यकता औंल्याए । यस्तो सहयोग राज्य र सरकारले पनि गर्नुपर्नेमा उनीहरुको जोड थियो ।

साधारण सभा समेत रहेकाले कार्यक्रमको अध्यक्षता गरेका केन्द्रका अध्यक्ष दुर्गा प्रसाद पौडेलले संस्थाको वार्षिक प्रतिवेदन पेश गरेका थिए । स्वागत केन्द्रका उपाध्यक्ष ठाकुर प्रसाद भण्डारी र संचालन सचिव रुद्र बहादुर खड्काले गरेका थिए । कार्यक्रम स्थानीय ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठान नेपालको सभाहलमा भएको थियो । कार्यक्रममा शैक्षिक व्यक्तित्व ओम प्रसाद खनाल र ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठान नेपालका उपाध्यक्ष शिव प्रसाद काफ्लेको पनि आतिथ्यता रहेको थियो ।
