समाचार

कमल–५ का आँखा शिविर संचालन, २३८ जनाले लिए सेवा

कमल/ झापाको कमल गाउँपालिका वडा नं. ५ को कार्यालयले वृहत् निःशुल्क आँखा जाँच शिविर संचालन गरेको छ । बुधबार १ दिन वडा कार्यालयमा आयोजना गरिएको सो स्वास्थ्य शिविरमा २३८ जना सेवाग्राहीले आँखा जाँच गराएका छन् । आँखा जाँचसँगै आवश्यकताका आधारमा कतिपयलाई निःशुल्क चश्मा र औषधी समेत वितरण गरिएको वडा सचिव अमृत कुमार साहले जानकारी गराए ।


शिविरमा वडाको विभिन्न टोलबाट आँखाको समस्या भएकाहरु आँखा जाँचका लागि पुगेका थिए । बिहान १० देखि दिउँसो २ बजेसम्म चलेको सो शिविरमा विर्ताज्योति आँखा अस्पताल दमकका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले सेवाग्राहीको आँखा जाँच गरेका थिए । वडामा रहेका टोल विकास संस्थाका पदाधिकारी तथा प्रतिनिधिहरुले शिविरमा आवश्यक सहयोग गरेका थिए भने वडा सदस्यहरु, वडा कार्यालयका कर्मचारी र आधारभूत स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीहरुले पनि सेवा कार्यमा सहयोग पुर्‍याएका थिए । शिविरको उद्घाटन वडाध्यक्ष लाल बहादुर (एल.बी.) विष्टले गरेका थिए भने अतिथिका रुपमा वडा सदस्यहरु ओम कुमार प्रधान, चन्द्रकला सुब्बा लगायत रहेका थिए । कार्यक्रमको संचालन वडा सचिव अमृत कुमार साहले गरेका थिए । शिविरको उद्घाटन गर्दै वडाध्यक्ष विष्टले वडाले सम्पूर्ण वडाबासीहरुको सहजताका लागि र स्थानीय स्तरमै आँखाको समस्या भएकाहरुलाई फाइदा पुग्ने गरी वडाको बजेटबाट यस्तो शिविरको आयोजना गरिएकोले भरपूर सुविधा लिन आग्रह गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *