समाचार

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड फागुन ३ गते दमक आउँदै

दमक/ नेकपा माओवादी केन्द्रले समाजवादी क्रान्तिको आधार देशको पूर्वलाई बनाउनेगरी जनतासँग माओवादी नामको जागरण अभियान संचालन गर्ने भएको छ । त्यसका लागि यही फागुन १२ गते पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड झापा आउने भएका छन् । सोही दिन झापाको, बनियानी, बाह्रदशी लगायत ३ ठाउँमा जागरण सभाहरु गर्ने कार्यक्रम रहेको जानकारी गराइएको छ । त्यसअगावै फागुन ३ गते शनिबार अध्यक्ष प्रचण्ड झापाको दमकमा खबरदारी सभालाई सम्बेधन गर्न आउने भएका छन् । त्यसका लागि आवश्यक तयारी पूरा भएको जनाइएको छ ।
झापा विद्रोह र कम्युनिष्ट आन्दोलनको उर्वर भूमि भएकाले यही जिल्लाबाट समाजवादी क्रान्तिको आधारशिला खडा गर्नेगरी जागरण अभियान संचालन गर्ने तयारी रहेको माओवादी केन्द्रका केन्द्रीय सदस्य रञ्जित तामाङले बताए । बुधबार सो पार्टींको दमक नगर समितिले स्थानीय चुल्हो होटलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै माओवादीका युवा नेता तामाङले यस्तो कुरा बताएका हुन् । तामाङ यतिबेला यही फागुन ३ गते दमकमा अध्यक्ष प्रचण्डले सम्बोधन गर्ने खबरदारी सभाको तयारीका लागि खटिइरहेका छन् । उनीसँगै माओवादीका युवा नेताहरु वैकल्पिक केन्द्रीय सदस्य वीरेन्द्र बस्नेत र कोशी प्रदेश कमिटीका कोषाध्यक्ष रेवतराज पुरी (गगन) लगायत झापा जिल्ला संयोजक राजु आचार्य ‘अग्नि’ पनि सक्रियताका साथ प्रचण्डको दमकको कार्यक्रम सफल पार्न सक्रियता देखाइरहेका छन् ।

जनतासँग माओवादी कार्यक्रम भने झापाबाट शुरु गरेर देशभरिनै संचालन गर्ने भएको छ । फागुन ३ गते हुने खबरदारी सभा देशमा विद्यमान भ्रष्टाचार र वेथिति विरुद्ध तथा सुशासन र समृद्धि स्थापनाका लागि भएको र यसअघि देशका विभिन्न ठाउँहरुमा गरिसकिएको सो पत्रकार सम्मेलनमा जानकारी गराइयो । दमकको खबरदारी सभासँगै माओवादी केन्द्रको दमक नगर समितिको दोश्रो नगर सम्मेलनको उद्घाटन पनि अध्यक्ष प्रचण्डले गर्नेछन् । फागुन ४ गते बन्द सत्र गरेर दमकमा माओवादी केन्द्रको नयाँ नेतृत्व सर्वसम्मत रुपमा चयन गरिने प्रचार प्रसार समितिका संयोजक तथा कोशी प्रदेश कमिटीका कोषाध्यक्ष पुरीले प्रष्ट पारे ।
दमकमा फागुन ३ गते दिनको मध्यान्ह १२ बजेदेखि सभा शुरु हुने र त्यसक्रममा अध्यक्ष प्रचण्डलाई पाथीभरा केबलकार निर्माणविरुद्धको अभियानका आन्दोलनकारीहरुले आफ्‌ना मागपत्र बुझाउने, दमकको चियावगान लगायतका मजदुर र सुकुम्बासी समस्याका बारेमा सरोकारवालाहरुले ज्ञापन पत्र बुझाउने, दमक बहुमुखी क्याम्पसका केही विद्यार्थी नेताहरुले सो क्याम्पसलाई त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पसका रुपमा मान्यता दिलाउन पहल गरिदिन आग्रह गर्ने र जसपा नेपालका एक जना युवा नेतासहित दर्जनौं अन्य पार्टीका कार्यकर्ताहरु माओवादी केन्द्रमा प्रवेश गर्दा स्वागत सत्कार गर्ने जस्ता कार्यक्रम रहेका छन् । अध्यक्ष प्रचण्डलाई देश विकासको समाजवादी नयाँ मोडलका बारेमा पनि केही अगुवाहरुले अवधारणा प्रस्तुत गर्ने कार्यक्रम रहेको बताइएको छ । अध्यक्ष प्रचण्डले यतिबेला माओवादी केन्द्रले जनतामाझ गएर उनीहरुका जनजीविकाका सवाल र गुनासाहरुसँग साक्षात्कार गर्ने मौका रहेको र त्यसको भरपुर सदुपयोग गर्ने बताउँदै आएका छन् । पत्रकार भेटघाट कार्यक्रमको अध्यक्षता माओवादी केन्द्रका दमक नगर अध्यक्ष रवि बस्नेत र संचालन सचिव डम्बर बोहोराले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *