समाचार

उल्लासका साथ लोकनृत्य र राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता सम्पन्न

दमक/ झापाको दमकमा विद्यालय स्तरीय लोकनृत्य प्रतियोगितासँगै तीन दिनसम्म संचालन भएको राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता पनि एकैसाथ समापन गरिएको छ । आइतबार दमक–२ स्थित हिमालय माध्यमिक विद्यालयमा आयोजना गरिएको लोकनृत्य प्रतियोगितामा प्रथम हिमालय मावि, द्वितीय प्रजिता एजुकेशनल एकेडेमी, तृतीय सर्वोदय बोर्डिङ स्कूल भएर पुरस्कार जितेका छन् । उनीहरुमध्ये प्रथम हुनेलाई नगद ५१ हजार, द्वितीय हुनेलाई नगद ३१ हजार र तृतीय हुनेलाई नगद २१ हजार रुपैयाँसहित मेडल, कप र प्रमाण पत्रले पुरस्कृत गरियो । विजेताहरुलाई दमक नगरपालिकाका प्रमुख राम कुमार थापाले ति पुरस्कारहरु प्रदान गरेका थिए ।
लोकनृत्यमा सान्त्वना पुरस्कार भने सान्त्वना सरस्वती आवि दमक–२ र इन्स्पायर बोर्डिङ स्कूल दमक–१ ले पाए । उनीहरुलाई प्रति विद्यालय टोली नगद ११/११ हजार रुपैयाँ, मेडल, कप र प्रमाण पत्र दिइयो । सो प्रतियोगितामा दमक नगरपालिकाभरिका २४ वटा विद्यालयले भाग लिएका थिए । प्रतियोगितामा उत्कृष्ट भेषभुषामा सनराइज मोडल स्कूल दमक–२ र उत्कृष्ट कोरियोग्राफीतर्फ रोजियट ब्राइट इन्स्टिच्युटले नगर ५/५ हजार पुरस्कार जितेका छन् । लोकनृत्य टोलीमा प्रत्येक विद्यालयबाट ६ देखि १२ जनासम्मको नृत्य टोली बनाइएको थियो ।


विजेताहरुलाई पुरस्कार वितरण गर्दै दमक नगर प्रमुख राम कुमार थापाले विद्यार्थीहरुमा रहेको प्रतिभा प्रस्फुटन गरी उनीहरुको कला, क्षमता र व्यक्तित्व विकासका लागि हौसला प्रदान गर्न यस्तो वृहत लोकनृत्य प्रतियोगिताको आयोजना गरिएको बताए । नगर प्रमुख थापाले प्रतियोगी विद्यार्थीहरुलाई विजेता बन्दा दिइएको पुरस्कार र सहभागी प्रतियोगीहरुलाई दिइएको अवसरले उनीहरुको प्रतिभा झनै फल्ने र फूल्ने आशा एवं विश्वास व्यक्त गरे ।
प्रतियोगिताको आयोजना दमक नगरपालिकाले गत सालदेखि प्रत्येक वर्ष गर्ने योजना बनाएको छ । यो पटकको लोकनृत्य प्रतियोगिता दोश्रो वर्षको हो । कार्यक्रमको अध्यक्षता गरेका शिक्षा समिति संयोजक तथा दमक–९ का वडाध्यक्ष कुवेर भट्टराई र सामाजिक व्यक्तित्व शेरबहादुर भट्टराईले नगरपालिकाले गरेको यस्तो कार्यलाई निरन्तरता दिइनुपर्ने र नगरका सबै विद्यालयलाई सहभागिताका लागि हौसला प्रदान गर्नुपर्ने धारणा राखे । सहभागी विद्यालयमध्ये दमक–५ स्थित दीपिनी आधारभूत विद्यालयका प्रधानाध्यापक शेषकुमार निरौलालले देशका विभिन्न भूगोलमा रहेका जातजातिहरुको मौलिक संस्कृति र परम्परा झल्किने लोकनृत्य एकैथलोमा देखाउन र हेर्न पाउँदा विद्यार्थीहरुमा कक्षाकोठा बाहेकको थप ज्ञान आर्जन हुने र संस्कार साथै संस्कृति देखेर आनन्दानुभूति महशूस भएको प्रतिक्रिया दिए । दमक नगरपालिकालाई उल्लेख्य राशीको पुरस्कार राखेर प्रतियोगिता गरेकोमा उनले विशेष धन्यवाद दिए ।
सोही क्रममा यही माघ १६ देखि संचालन गरेको १५ औं दमक नगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोतिाको विजेताहरुलाई पनि पुरस्कार दिँदै सो कार्यक्रमको समापन गरियो । राष्ट्रपति रनिङ्ग शिल्डमा पोइन्टका आधारमा हिमालय मावि प्रथम, सर्वोदय अंग्रेजी बोर्डिङ स्कुल द्वितीय र ग्लोबल एजुकेशनल एकेडेमी तृतीय स्थान प्राप्त गर्न सफल भएका छन् । ति विद्यालयलाई शिल्ड र प्रमाण पत्र प्रदान गरिएको दमक नगरपालिका शिक्षा शाखाका अधिकृत सोमनाथ गुरागाईले बताए । प्रतियोगितामा नगरका ३० विद्यालयका विद्यार्थी खेलाडीहरुले सहभागिता जनाएका थिए । जसमा भलिबल, कबड्डी, एथ्लेटिक्स, कराते, तेक्वान्दो लगायतका खेलहरु खेलाइएको थियो । राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद र लोकनृत्य प्रतियोगिता दमक नगरपालिकाको विशेष महत्वको कार्यक्रम रहेको र यसलाई आगामी वर्षहरुमा पनि निरन्तर राख्ने योजना रहेको नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख प्रविण खड्काले जानकारी गराए । दुवै प्रतियोगिताको उद्घाटन र समापन कार्यक्रमको संचालन नगर शिक्षा शाखाका राष्ट्रसेवक कर्मचारी मनोज रेग्मीले गरेका थिए । दुवै प्रतियोगितालाई दमकभरिका निजी संस्थागत तथा सामुदायिक विद्यालयका विद्यार्थीहरुले सुनौलो पर्वका रुपमा उल्लासका साथ लिएको पाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *