दमक/ पाठेघरको मुखको क्यान्सरको रोकथामका लागि किशोरीहरुलाई लक्षित गरी एच.पी.भी. खोप अभियान झापाको दमकमा पनि संचालन हुने भएको छ । यही माघ २२ देखि २९ गतेसम्म नगरका सामुदायिक र संस्थागत गरेर ८१ वटा विद्यालयहरुमा खोप केन्द्र तोकेर यस्तो खोप दिन लागिएको हो । खोप अभियान यो वर्ष चल्ने र अर्को वर्षदेखि नियमित खोपका रुपमा एच.पी.भी. प्रदान गरिने दमक नगरपालिका स्वास्थ्य शाखाका प्रमुख ब्रजेश कुमार मेहताले जानकारी गराएका छन् । यसपटक अभियानका क्रममा दमकका ६ हजार ५२३ जनालाई एच.पी.भी. खोप लगाइने दमक नगर स्वास्थ्य शाखाकी नर्सिङ स्टाफ कमला पौडेलले बताइन् । सरकारले देशभरि संचालन गर्न लागेको यो अभियानका क्रममा तोकिएको उमेर समूहका किशोरीहरुको कुल जनसंख्याको ९० प्रतिशतलाई खोप लगाउने कार्यक्रम रहेको छ । त्यस्तै सरकारले ३० देखि ४९ वर्ष उमेर समूहका महिलाहरुको पाठेघरको मुखको क्यान्सर पहिचान गर्ने र सो रोग लागेको प्रयोगशाला परीक्षणबाट पुष्टि भएमा निःशुल्क उपचार गर्ने व्यवस्था गरेको छ । नेपालमा वर्षेनी २ हजार १६९ जना महिलालाई विभिन्न प्रकारको क्यान्सरबाट मृत्यु हुने गरेकोमा ६१ प्रतिशतको पाठेघरको मुखको क्यान्सरबाट मृत्यु हुने गरेको तथ्यांक छ । जसको आधारमा नेपालमा प्रत्येक दिन ४ जना महिलाको मृत्यु हुने गरेको बताइन्छ ।

पाठेघरको मुखको क्यान्सर सन् २०३० सम्ममा निवारण गर्ने लक्ष्य राखिएको छ । त्यसैका लागि नेपालमा पनि यस्तो अभियान र खोप दिने कार्यक्रम ल्याइएको हो । अभियानका क्रममा लगाइने खोपको नाम भने सिकोलिन रहेको छ भने पाठेघरको मुखको क्यान्सर गराउने भाइरसको नाम ह्युमन पापिलोमा भाइरस भएको विज्ञहरुले बताएका छन् । यो क्यान्सरको मुख्य कारक असुरक्षित यौन सम्पर्क रहेको विज्ञको भनाई छ । शुक्रबार दमक नगरपालिकामा भएको कार्यक्रममा नगर प्रमुख राम कुमार थापाले यो खोप अभियानमा सहयोग गर्न र सफल पार्न सम्बन्धित सबै अभिभावक, विद्यार्थी तथा विद्यालय र सरोकारवालाहरुलाई अनुरोध गरे । कार्यक्रममा नगरपालिकाका वडाध्यक्षहरु, कार्यपालिका सदस्य, विभिन्न शाखाका प्रमुखहरु र विभिन्न विद्यालयका प्रधानाध्यापक लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन दमक नगर स्वास्थ्य शाखाका सिनियर अहेव अग्नि प्रसाद चम्लागाईले गरेका थिए । यो खोप अभियानका लागि स्वास्थ्यकर्मी र स्वास्थ्य स्वयंसेविकाहरुलाई फिल्डमा जानका लागि आवश्यक तयारी गरिसकिएको बुझिएको छ ।
