समाचार

चौथो राष्ट्रिय ज्येष्ठ नागरिक दिवस विविध कार्यक्रम गरी मनाइयो

दमक/ चौथो राष्ट्रिय ज्येष्ठ नागरिक दिवस देशभर विविध कार्यक्रम गरी मनाइएको छ । दिवसका क्रममा कतै सरकार र सरकारी निकाय त कतै ज्येष्ठ लक्षित सामाजिक संघ संस्थाहरुले सम्मान, अन्तरक्रिया, गोष्ठी, सहयोग सामाग्री वितरण जस्ता कार्यक्रम गरेका छन् । कतै वाद्यवादन वितरण गरिएको छ ।

दमकमा ज्येष्ठ नागरिक संघ दमकले ज्येष्ठ नागरिकको क्षेत्रमा योगदान पुर्‍याउने ज्येष्ठ नागरिक र संघलाई सहयोग गर्ने दाता गरी ५ जनालाई दोसल्ला, नेपाली ढाका टोपी र प्रमाण पत्रले सम्मान गरेको छ । दमक–८ स्थित संघको कार्यालयमा भएको कार्यक्रममा प्रमुख अतिथि वडाध्यक्ष धर्मप्रसाद (दिपेश) दाहाल र संघको अध्यक्ष लक्ष्मीप्रसाद थपलियाले सम्मान गरेको हुन् । सम्मानित हुनेहरुमा ज्येष्ठ नागरिकहरु क्रमशः डिल्लीनाथ भण्डारी, मेघनाथ चम्लागाई, लक्ष्मी प्रसाद भट्टराई तथा दाताहरु प्रेम प्रसाद पाण्डे र रत्नादेवी मिश्र रहेका छन् ।
त्यस अवसरमा कोशी प्रदेश ज्येष्ठ नागरिक महासंघका सचिव जय प्रसाद संग्रौला, ज्येष्ठ नागरिक जिल्ला संघ झापाका वरिष्ठ उपाध्यक्ष यज्ञश्वर बाँस्तोला, संघका प्रमुख सल्लाहकार रघुनाथ खरेल लगायतको आतिथ्यता रहेको थियो । स्वागत मन्तव्य संघकी उपाध्यक्ष मीना कुमारी कोइरालाले गरेको कार्यक्रममा संचालन सचिव गंगा प्रसाद संग्रौलाले गरेका थिए ।
उता यसै सन्दर्भमा झापाको गौरादह र भद्रपुरमा नगरपालिकाले विभिन्न कार्यक्रम गरी दिवस मनाएका छन् । गौरादहमा नगरपालिकाले ज्येष्ठ नागरिक नगर समिति सँगको समन्वय र सहकार्यमा दिवस मनाएको छ । त्यसक्रममा नगरपालिकाका सबै वडामा रहेका दिवा सेवा समूहका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा गौरादह–१ स्थित जानकीश्वर दिवा सेवा समूहका संयोजक लक्ष्मीप्रसाद दुलाललाई दोसल्ला, खादा, माला र प्रमाण पत्रले सम्मान गरिएको छ । सबै दिवा सेवा समूहहरुलाई भजन कीर्तन गर्नका लागि हार्मोनियम, मादल, झ्याम्टा, घण्टी लगायतका वाद्यवादन समेत कार्यक्रममा वितरण गरिएको जानकारीमा आएको छ । वाद्यवादन कोशी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको आर्थिक अनुदानबाट खरीद गरी वितरण गरिएको हो ।गौरादह नगरपालिका प्रमुख छत्रपति सुवेदीको अध्यक्षतामा नगरपालिकाको सभाहलमा भएको कार्यक्रममा नगर उप–प्रमुख जलवर्षा राजवंशी, प्रमुख प्रशासकीय अधिकृत युवराज खतिवडाले शुभकामना मन्तव्य राखेका थिए । ज्येष्ठ नागरिक नगर समिति गौरादहका अध्यक्ष गोपाल प्रसाद काफ्‌लेले राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका बारेमा प्रकाश पार्नुभएको थियो भने नगरपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख कविता सुब्बाले पनि मन्तव्य राखेकी थिइन् । ज्येष्ठ नागरिक नगर समिति गौरादहका सचिव गोपीनाथ धमलाले कार्यक्रममा सहजीकरण गरेका थिए । शुभकामना मन्तव्यमा नगर प्रमुख सुवेदी र उप–प्रमुख राजवंशीले ज्येष्ठ नागरिकको हक, हित र कल्याणका लागि अझै धेरै कामहरु गर्न बाँकी रहेको र त्यसका लागि नगरपालिकाले विशेष प्राथमिकता दिएर योजनासहित बजेट छुट्याएर कार्यहरु गर्दै जाने बताए ।


उता भद्रपुर नगरपालिकाले पनि जिल्ला समन्वय समिति झापाको चन्द्रगढीस्थित सभाहलमा एक कार्यक्रम गरी राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाएको छ । सो अवसरमा ५३ जना ज्येष्ठ नागरिकलाई सम्मान गरएिको छ । भद्रपुर नगरपालिकाका १० वटै वडाका एक/एक जना असल स्याहारकर्ता तथा १० वटै वडाबाट ६० वर्षदेखि ७० वर्ष सम्मका ४३ जना अपाङ्गता भएका ज्येष्ठ सहित ५३ जनालाई सम्मान गरिएको हो । नगरपालिकाको ज्येष्ठ नागरिक शाखा र ज्येष्ठ नागरिक नगर समन्वय समिति भद्रपुरको सहकार्यमा सो दिवस मनाइएको हो

कार्यक्रमका प्रमुख अतिथि भद्रपुर नगर प्रमुख गणेश पोखरेल, ज्येष्ठ नागरिक नगर समन्वय सममितिका अध्यक्ष हेमप्रसाद खनाल लगायतले असल स्याहारकर्ता १० जनालाई पानी तताउने विद्युतीय जग वितरण गर्दै दोसल्ला ओढाएर प्रशंसा पत्रले सम्मान गरेका थिए । त्यसैगरी नगरभत्रिका ४३ जना ज्येष्ठ नागरिकलाई न्यानो सिरकसहित नगद समेत प्रदान गरेर सम्मान गरिएको थियो । कार्यक्रममा बोल्दै नगर प्रमुख पोखरेलले नगरपालिकाले अपाङ्गता भएका तथा ज्येष्ठ नागरिकको क्षेत्रमा विभिन्न कार्ययोजनाहरु ल्याएको बताउँदै केन्द्रीय तथा प्रादेशिक सरकारले स्थानीय सरकार संग समन्वय गरी थप कार्य योजना ल्याउनु पर्नेमा जोड दिए । नगर उप–प्रमुख राधा कार्की, प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौला, ज्येष्ठ नागरिक जिल्ला संघ झापाका उपाध्यक्ष उपाध्यक्ष सूर्यनारायण गणेश, भद्रपुर–२ का वडाध्यक्ष राम कंडेलले पनि शुभकामना मन्तव्य राखेका थिए । हेमप्रसाद खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत प्रथम उपाध्यक्ष परमानन्द मिश्रले र संचालन सचिव ईश्वर पोखरेलले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *