समाचार

कन्काई टोल विकासमा पुनः यमबहादुर अधिकारीको नेतृत्व

दमक/ झापाको दमक नगरपालिका-५ बेलडाँगी रोडस्थित कन्काई टोल विकास संस्थाले पुनः यमबहादुर अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । शुक्रबार स्थानीय मारवाडी सेवा समितिको हातामा भएको ८ औं साधारण सभा तथा अधिवेशनले यसअघि पनि अध्यक्ष रहेका अधिकारीलाई पुनः संस्थाको मुख्य जिम्मेवारी दिएको हो । अधिकारी सो टोल विकास संस्थाको स्थापनाकालदेखि निरन्तर अध्यक्ष रहँदै आएका छन् ।
समितिको सचिवमा भूपेन्द्र प्रसाद न्यौपाने (भिविन्द्र) र कोषाध्यक्षमा चन्द्रकला भण्डारी चयन भएका छन् । संस्थाको कार्यसमिति सदस्यहरुमा भने क्रमशः गम्भीरा कार्की, सीता काफ्ले (रुक्मिणा), चूडामणि ओझा र केशवशरण अधिकारी निर्वाचित भएका छन् । नयाँ कार्यसमिति चयन गर्नुअघि भएको साधारण सभामा टोलमा रहेको ट्राफिक व्यवस्थापन तथा सुधारका लागि ट्राफिक प्रहरी प्रमुखलगायत सरोकारवालाहरुसँग छलफल गर्ने, रोयल पार्टी प्यालेस तथा मारवाडी सेवा समितिको भवनबाट निस्कने ध्वनि प्रदूषणका बारेमा सम्बन्धित निकायमा जानकारी गराउने, सडकपेटी मर्मत तथा सुधारबारे पहल गर्ने, टोलमा गमला राख्न वडा कार्यालयसँग माग गर्ने साथै सीपमूलक तालिम, गोष्ठी, अचार बनाउने, च्याउ खेती गर्ने तथा आयमूलक कामका लागि प्रस्ताव गर्ने लगायतका प्रस्तावहरु सर्वसम्मतिले पारित गरेको छ ।
साधारणसभाले वचत तथा ऋण परिचालनको कामलाई निरन्तरता दिने र त्यसबाट प्राप्त हुने व्याजले सामाजिक तथा विकासका काम गर्ने निणर्य पनि गरेको छ । साधारण सभाको उद्घाटन सत्रमा प्रमुख अतिथि दमक-५ का वडाध्यक्ष इन्द्रबहादुर गुरुङ, विशेष अतिथि दमक-६ का वडाध्यक्ष टेकबहादुर थापा, दमक-५ का वडा सदस्य गोपालकृष्ण सँग्रौला, वडा सदस्यहरु शोभा खतिवडा बेलवासे र सरु परियार, सामाजिक व्यक्तित्व लक्ष्मीप्रसाद सँग्रौला र दमक नगर प्रहरी प्रमुख रुद्रजंग कार्कीले स्थानीय विकास र टोल विकास संस्थाको वर्तमान स्थिति र भूमिकाका बारेमा आ-आफ्ना भनाइहरु राखेका थिए । संस्थाको अध्यक्ष यमबहादुर अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष चन्द्रकला भण्डारीले स्वागत मन्तव्य र कार्यक्रम संचालन सचिव नन्दकुमार राईले गरेका थिए । कनकाई टोल विकास संस्थाको गएको आर्थिक वर्षको वासलात ११ लाख ५७ हजार ७१४ रुपैयाँ रहेको साधारण सभामा वितरित अध्यक्ष अधिकारीको प्रतिवेदनमा उल्लेख छ । साधारण सभाको बन्द सत्रमा संस्थाको लेखा संयोजक चूडामणि ओझा, सामाजिक व्यक्तित्व भूपेन्द्र प्रसाद न्यौपाने (भिविन्द्र) लगायतले आ-आफ्ना भनाइ तथा सुझावहरु राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *