दमक/ झापाको दमक अस्पतालमा आगामी ६ महिनाभित्रमा आइसीयूको व्यवस्था हुने भएको छ । शुक्रबार मात्र भएको एक सम्झौताबमोजिम अबको ६ महिनाभित्रमा अस्पतालमा गम्भीर र सिकिस्त विरामीहरुका लागि आइसीयूको सुविधा समेत थपिने भएको हो । यसका लागि दमक नगरपालिका, दमक अस्पताल र लायन्स क्लब अफ दमक इष्टर्न लायन (लायन्स क्लब इन्टरनेशनल) बिच आपसी सम्झौता भएको छ । जसअनुसार लायन्सबाट प्राप्त सहयोग राशी र नगरपालिकाको समेत गरेर २ करोड ५३ लाख ४५ हजारको लगानीबाट आइसीयू निर्माण गरिने निश्चित भएको छ ।
सो सम्बन्धी सम्झौता पत्रमा दमक अस्पतालमा आइसीयू स्थापना, संचालन र दिगो व्यवस्थापनका लागि आवश्यक मेडिकल यन्त्र, उपकरण, औजार, सामग्री खरिद गरिने भएको छ । यससँगै अस्पताललाई एचडियू का रुपमा समेत विकास गरिने अस्पतालका निमित्त मेडिकल सुपरिण्टेण्डेण्ट डा. कृष्ण प्रसाद साहले जानकारी गराए । लायन्सले भने सो का लागि आवश्यक माथि भनिएका सामग्रीहरु खरीद गरी उपलब्ध गराउने सम्झौतामा उल्लेख गरिएको छ । आइसीयू संचालनका लागि आवश्यक पूर्वाधारहरु पनि लायन्स इन्टरनेशनललेनै बनाइदिने भएको छ । सो का लागि लायन्सले १ लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग गर्ने सम्झौता भएको छ । नगरपालिकाले भने ३७ हजार ५०० अमेरिकी डलर अर्थात् नेपाली रुपैयाँ ५१ लाख ३ हजार साझेदारीमा लगानी गर्ने सम्झौता पत्रमा लेखिएको छ ।
सम्झौता पत्रमा दमक नगरपालिकाका तर्फबाट नगर प्रमुख राम कुमार थापा (दमक अस्पताल व्यवस्थापन समिति अध्यक्ष) र लायन्स इन्टरनेशनलका तर्फबाट एरिया चिफ (एरिया २) डिष्ट्रिक ३२५ सी एमडी ३२५ नेपाल) नेत्र प्रसाद चम्लागाईले हस्ताक्षर गरेका छन् । रोहबरमा दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्की, दमक अस्पताल व्यवस्थापन समिति सदस्य प्रकाश प्रसाद अधिकारी र दमक अस्पतालका निमित्त मेडिकल सुपरिण्टेण्डेण्ट डा. कृष्ण प्रसाद साहले हस्ताक्षर गरेका छन् । दमक अस्पतालका लागि यो ठूलो उपलब्धि हो । यसबाट बिरामीहरु र आसपासको क्षेत्रका बासिन्दाहरुलाई विशेष सुविधा र राहत मिल्ने दमक नगरपालिकाले जनाएको छ ।
लायन्सका तर्फबाट हस्ताक्षरकर्ता नेत्र प्रसाद चम्लागाईले दमक र आसपासका जनताको सुविधाका लागि यस्तो सहयोगसहितको सम्झौता गरिएको प्रकाश पारे । दमकमा स्वास्थ्य क्षेत्रमा यतिको ठूलो परियोजना र लगानी अहिलेसम्मकै पहिलो भएको पनि उनले जानकारी गराए । दमकको यो परियोजनाका लागि लायन्स डिष्ट्रिक ३२५ सी का गभर्नर विकास अधिकारीले विशेष पहल र सिफारिस रहेको बताइएको छ । सो परियोजनाका लागि सोही डिष्ट्रिकका सेकेण्ड भाइस डिष्ट्रिक गभर्नर बबरजंग थापा (किरण) को विशेष सक्रियता रहेको थियो । दमकका लायन्सहरुको पहलकदमीमा अन्तर्राष्ट्रिय लायन्सलाई अनुरोध र प्रस्ताव गरेर यो सहयोग र सुविधा प्राप्त भएको पनि चम्लागाईले बताए । दमक अस्पतालमा केही वर्षयता सेवा सुविधामा व्यापक विस्तार भएको छ । यसबाट अस्पतालमा स्वास्थ्य बिमा गरेका र नगरेका सेवाग्राहीहरुको घुँइचोनै लाग्ने गरेको छ । अब आइसीयूको स्थापना र संचालन पछि भने दमक र आसपासका बिरामीहरुलाई टाढा धाउनुपर्ने अवस्थाको अन्त्य हुने देखिएको छ । वैशाखदेखिनै आइसीयू संचालनमा आउने तयारीका साथ काम हुने बताइएको छ ।
समाचार
दमक अस्पतालमा ६ महिनाभित्र आइसीयूको व्यवस्था लायन्स इन्टरनेशनलले गर्यो १ करोड ५० लाख बढी सहयोग
- by ज्येष्ठ आवाज
- December 14, 2024
- 0 Comments
- 115 Views
- 2 months ago
