कमल/ झापाको कमल-७ गेउरियास्थित इन्द्रेणी बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो २८ औं स्थापना दिवसका अवसरमा ज्येष्ठ नागरिक, विद्यार्थी तथा उत्कृष्ट कारोबारीलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ । ज्येष्ठ शेयर सदस्यतर्फ सम्मानित हुनेहरुमा वेदमाया खनाल, नैनकला न्यौपाने, कृष्णप्रसाद भट्टराई, कमलादेवी भट्टराई, शिवकुमारी राई, रामसेवक साह, जलपादेवी खतिवडा, नरबहादुर राई र मकरबहादुर लिम्बू रहेका छन् । उनीहरुलाई कमल गाउँपालिका उपाध्यक्ष प्रमिला न्यौपाने तिवारी र सहकारी संस्थाका अध्यक्ष कपिल आचार्यले दोसल्ला ओढाइ सम्मान पत्रले सम्मान गरे । सहकारीको कार्यालय भवनको सभाहलमा आयोजित कार्यक्रमकाबीच आइतबार यसरी सम्मान गरिएको हो ।
सोही अवसरमा २०८० सालको एसईई परीक्षामा शेयर सदस्यका छोराछोरीहरुमध्ये सबैभन्दा धेरै अंक ल्याउने निजी तर्फ दमक-६ स्थित ग्लोबल एजुकेशन एकेडेमीबाट ३.६८ जीपीए ल्याउने दृष्टि दाहाल र साउथपोल एजुकेशनल फाउण्डेशनबाट ३.७२ जीपीए ल्याउने तपश्वी काफ्ले तथा सामुदायिक तर्फ जनता माध्यमिक विद्यालयबाट ३.६१ जीपीए ल्याउने चेतन घिमिरेलाई जनही नगद २ हजार ५ सयसहित प्रमाण पत्रले पुरस्कृत गरियो । इन्द्रेणी विद्या पुरस्कार नाम दिइएको सो पुरस्कारबाट कक्षा १२ तर्फ भने प्रशान्तराज रायमाझी ३.५५ जीपीए, सन्ध्या गौतम ३.५३ जीपीए, रोजिना अधिकारी ३.४७ जीपीए र कविर कटुवाल ३.४७ जीपीएलाई नगद ३ हजार सहित प्रमाण पत्रबाट पुरस्कृत गरियो । उनीहरुलाई कमल-६ का वडाध्यक्ष नरेन्द्र भट्टराई, संस्थाका अध्यक्ष कपिल आचार्य, संस्थापक अध्यक्ष भिमप्रसाद लामिछाने र पूर्वअध्यक्ष टेकेन्द्र कुमार श्रेष्ठ पुरस्कार तथा प्रमाण पत्र वितरण गरेका थिए । कार्यक्रममा संस्थाका पूर्वअध्यक्ष टेकेन्द्र कुमार श्रेष्ठलाई लामो समय सहकारीको क्षेत्रमा योगदान पुर्याएको भन्दै सम्मान पत्र र दोसल्लाले सम्मान गरिएको थियो ।
सो अवसरमा कमल गाउँपालिका तथा गौरादह नगरपालिकाका विभिन्न सामुदायिक विद्यालयमा अध्ययनरत विपन्न तथा जेहेन्दार कक्षा १ देखि १० सम्मका १५ विद्यार्थीहरुलाई नगदसहित इन्द्रेणी छात्रवृत्ति पुरस्कार वितरण गरिएको थियो । त्यस्तै संस्थामा उत्कृष्ट कारोबार गर्ने व्यक्तिहरुलाई पनि पुरस्कार प्रदान गरियो भने उत्कृष्ट रेमिट्यान्स कारोबारी र उत्कृष्ट दूध उत्पादक कृषकलाई पनि पुरस्कार प्रदान गरिएको व्यवस्थापक खगेन्द्र भण्डारीले जानकारी गराए । संस्थाका अध्यक्ष आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष सविता काफ्ले र कार्यक्रम संचालन सचिव रोशनकुमार अधिकारीले गरेका थिए । प्रमुख अतिथि कमल गाउँपालिका उपाध्यक्ष न्यौपाने र कमल-६ वडाध्यक्ष नरेन्द्र भट्टराईले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा सहभागीहरुलाई स्थानीय सनसाइन इङलिश स्कूलका विद्यार्थीहरुले आकर्षक नृत्यहरु प्रस्तुत गरेर मनोरञ्जन दिलाएका थिए । इन्द्रेणीले स्थापना दिवसका अवसरमा शनिबार रक्तदान र विहीबार निःशुल्क आँखा शिविर संचालन गरेको थियो ।
