दमक/ झापाको दमकमा ज्येष्ठ नागरिकलाई लक्षित गरेर एकदिने आँखा शिविर संचालन गरिएको छ । दमक नगरपालिका-८ स्थित ज्येष्ठ नागरिक संघ दमक नगर समितिको दिवा सेवा केन्द्रमा यस्तो आँखा शिविर संचालन गरिएको हो । शिविरमा २१६ भन्दा बढी ज्येष्ठ नागरिकलगायतले आँखा परीक्षण गराउनुका साथै आवश्यकता अनुसार निःशुल्क चश्मा र औषधी समेत प्राप्त गरेका छन् ।
ज्येष्ठ नागरिक संघ दमकको आयोजनामा भएको यो आँखा परीक्षण शिविरमा मोतिया विन्दुलगायतको समस्या देखिएकाहरुलाई शल्यक्रियाका मेची आँखा अस्पताल विर्तामोड रिफर गरिएको संघका कोषाध्यक्ष तुलारामा बाँस्तोलाले जानकारी गराए । शिविरको उद्घाटन औपचारिक कार्यक्रमका बीच दमक नगरपालिका प्रमुख राम कुमार थापाले गरेका थिए । नगर प्रमुख थापा र दमक-८ का वडाध्यक्ष धर्मप्रसाद (दिपेश) दाहालले शुभकामना मन्तव्य राखेको कार्यक्रममा स्वागत मन्तव्य संघकी उपाध्यक्ष मीना कोइरालाले गरेकी थिइन् । कार्यक्रमको अध्यक्षता ज्येष्ठ नागरिक संघ दमकका अध्यक्ष लक्ष्मी प्रसाद थपलिया र कार्यक्रम संचालन सचिव गंगाप्रसाद संग्रौलाले गरेका थिए । आँखा शिविरका लागि मेची आँखा अस्पताल विर्तामोडले प्राविधिक सहयोग गरेको थियो । संघले भने वर्षेनी यस्ता स्वास्थ्य शिविरहरु गर्दै आएको छ ।
