समाचार

स्वास्थ्य मन्त्री पौडेलसमक्ष दमक अस्पताललाई स्तरोन्नतिका लागि सहयोग गर्न नगर प्रमुख थापाको अनुरोध

दमक/ झापाको दमक नगरपालिकाले संघीय स्वास्थ्यमन्त्री प्रदीप पौडेल समक्ष दमक अस्पतालको स्तरोन्नतिका लागि आवश्यक सहयोगको व्यवस्था मिलाइदिन अनुरोध गरेको छ । मन्त्री पौडेल आइतबार इलामबाट फर्किने क्रममा दमक नगरपालिकाको आग्रहलाई स्वीकार्दै दमक आएपछि उनको स्वागत गर्दै सो अनुरोध राखिएको हो । आइतबार साँझ दमक अस्पताल आइपुगेका मन्त्री पौडेलले दमक अस्पतालको निरीक्षणसहित आइसियु कक्ष उद्घाटन गरेका छन् ।
दमक अस्पतालमा बिरामीको चाप धेरै भएको र यसको स्तरोन्नतिको आवश्यकता भएको नगर प्रमुख रामकुमार थापाले जानकारी गराएका थिए । थापाले नगर अस्पतालको रुपमा रहेको दमक अस्पतालको सेवा विस्तारका लागि पुरानो भवन जीणर् रहेको भन्दै दमकले पहिलो प्राथमिकतामा अस्पतालको भवन निर्माणलाई राखेको हुँदा आवश्यक पहल गरिदिन आग्रह समेत गरेका थिए । उनले भारतीय दूतावास अन्तर्गत आउने २० करोडको सहयोगलाई यस अस्पतालमा लगाइदिन यस अघि दमकबाटै सांसदमा विजयी भएर मन्त्रीसमेत बनेका देवेन्द्र दाहाल, प्रधानमन्त्री केपी शर्मा ओलीसम्म कुरा पुर्‍याएको थापाले बताए । उनले भने- अहिले सम्बन्धित मन्त्रालयको मन्त्री नै स्वयं उपस्थित भएर अनुगमन, अवलोकन गरेपछि यसलाई अझ महत्वका साथ अगाडि बढाईदिनुहुनेछ भन्ने आशा र अपेक्षा गरिएको बताए । यस कार्यका लागि दमक नगरपालिकाले सर्वसम्मत निणर्य समेत गरिसकेको र भक्तपुरमा भएकोजस्तै स्थानीय स्तरमा उदाहरणीय अस्पताल बनाउने अभियानमा जुटेको पनि थापाले मन्त्रीलाई सुनाए । थापाले सिटी स्क्यान र डाइलोसिस मेसिन उपलब्ध गराउन माग गरेका छन् ।
दमक अस्पतालको तर्फबाट कुरा सुनिसकेपछि मन्त्री पौडेलले अस्पताललाई वर्गीकरण गर्नुपर्ने तर सेवाको आधारमा गर्ने कि बेडको आधारमा गर्ने भन्नेमा प्रष्ट हुनुपर्ने बताए । उनले वीर अस्पतालमा पनि यही सुविधा र दमक अस्पतालले पनि यही सुविधा दिने र नेपालका सबै स्वास्थ्य संस्थामा एमआरआई पुर्‍याउनु पर्ने जस्तो विषय सम्भव नहुने बताए । उनले भने पालिकाको अस्पतालले के गर्ने, प्रदेश अस्पताले के गर्ने र संघीय अस्पतालले के गर्ने, स्वास्थ्य चौकीले के गर्ने हो भन्नेमा प्रष्ट हुन जरुरी रहेको उनले बताए । यसलाई कार्य विभाजन गरेर रिफरेन्स सिष्टमलाई लागु गर्नुपर्ने बताए । उनले वीर अस्पताल, बीपी अस्पताल जाँदा यहाँको रिफर लिएर जानुपर्ने प्रणालीको विकास गर्नुपर्ने बताए ।
विशिष्टकृत सेवा दिने अस्पताल एउटा, आधारभूत सेवा दिने अस्पताल अर्को र प्राथमिक उपचार दिने अस्पताल एउटा हुनुपर्नेमा हामीहरु सबै कुरा एकै ठाउँमा जुन तहको उपचार सेवा पनि पाइन्छ भन्ने सोचको विकास भएको पनि उनले बताए । पालिकाको स्रोत र साधनबाट चलाइएको अस्पतालमा दैनिक १ हजार बिरामीको सेवा दिनु भनेको संघीय अस्पताल भन्दा पनि राम्रो अवस्था हो । तर यो भिड नभएर आकर्षण रहेको पनि उनले बताए । सेवा सुविधाका दृष्टिकोणबाट बढेको आकर्षण हो भीड
अस्पतालका मे.सु. डा. कृष्ण प्रसाद साहले अहिलेसम्म अस्पतालले गरेका थिए ।
मे.सु. डा. साहले ओपीडीमा १७ जना चिकित्सकले सेवा दिइरहेको र डेढसयसम्म एक्स-रे, त्यतिकै हाराहारीमा भिडियो एक्स-रे, इसिजी, परिवार नियोजनको सुरक्षित गर्भपतन सेवा, दाँतको ओपीडी सेवा दिइरहेको जानकारी गराए । दैनिक ८ देखि १० वटासम्म शल्यक्रिया हुने गरेकोमा ४-६ वटा मेजर शल्यक्रिया (चिरेर र दूरविन प्रविधि) बाट गरिने गरेको सुनाए । पहिला पुरानो भवनमा रहेर दिएको सेवा भन्दा नयाँ भवनमा आएपछि थपिएका सेवा सुविधाले गर्दा बिरामीको विश्वास लिन सकेको र चाप पनि सोहीअनुसार बढ्दै गएको उनले बताए । स्वास्थ्य बीमा कार्यक्रमलाई हेर्दा भुक्तानी पाउनुपर्नेमा देशभरबाट छैठौं नम्बरमा परेको उनले बताए । १८ करोड बीमा रकम क्लेम गरिएको उनले बताए । सो कार्यक्रममा दमक नगरपालिका उप-प्रमुख रेगिना भट्टराई प्रसाई, कार्यकारी प्रमुख गणेशराज कार्की, अस्पताल समितिका पदाधिकारीहरु, राजनीतिक दलका नेता तथा प्रतिनिधिहरु, कर्मचारी, चिकित्सक, जनप्रतिनिधि, पत्रकारलगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *